logo-img

लामो समयदेखि वर्षा नहुँदा भूमेथानमा क्षमा पूजा
फाइल तस्बिर

लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमा पूजा गरेका छन् ।

शुक्रबार बिहानैदेखि दिनभर गाउँभरका स्थानीयवासीले झाक्री डिलबहादुर तामाङको नेतृत्वमा घ्याङस्वाराको १ हजार ८ सय मिटर उचाइमा अवस्थित जिलिङ भूमेथान महादेव र डुप्चेदेवी थानमा क्षमा पूजा गर्दै जलधारा गरेका छन् । स्थानीयवासीले पानी नपर्नुमा नागराजको रिसानी भएको जनाउँदै भूमेथान परिसरमा रहेको कालो नागलाई कुखुराको बली चढाएका जनाइएको छ । 

‘पुराना दिनमा भूमेथान रिसानी हुँदा वर्षात हुँदैनथ्यो,’ झाँक्री तामाङले भने, ‘अहिले पनि यस्तै भएको छ । खेतबारीमा लगाएका कृषिवाली मर्न थालेका छन् । पशुचौपायाले हरियो घाँस पाउन समस्या छ । जीवित प्राणीको जीवन जीउन गाह्रो भएपछि रिसाएका भगवान खुसी बनाउन जलधारा गरेका हौँ ।’

भूमेथानमा जलधारा गरेपछि केही दिनमै पानी पर्ने यहाँको स्थानीयवासीको विश्वास छ । मूला झाक्रीले ठ्याङ्ग्रो बजाउँदै त्यसमा साथ दिन पुगेका स्थानीयले कुखुरा, जल, चामल, अण्डा र भेटी चढाएर दिनभर गरेको क्षमा पूजाले भगवान् खुसी हुनुभएको स्थानीय मङ्गल तामाङले विश्वास व्यक्त गरे ।

लामो समयदेखि वर्षात् नहुँदा उच्च पहाडी क्षेत्र पञ्चकन्या–४ आरुखर्कसहित यहाँको थप्रेक र आसपासमा किसानले रोपेको मकै खेती औंल्याउँदै थालेका छन् । पानीका मुहान सुक्न थालेसँगै जीवित प्राणीको प्राण बचाउन कठिनाइ भएको वीरबहादुर तामाङले बताए ।

पञ्चकन्याका स्थानीय सहित नुवाकोटको विभिन्न स्थानमा पानी नपर्नुलाई भगवानाको रिसानी भएको जनाउँदै जलधारा गर्ने चलन पुरानो हो । भगवान इन्द्रको रिसानी हुँदा पानी नपर्ने स्थानीयको विश्वासले समुदाय अनुसार पण्डित, झाक्री, लामाबाट क्षमा पूजा र जलधारा गर्दै किसानहरू पानी (वर्षा) पुकार्दै आइरहेका छन् ।  





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार २२:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया