logo-img

वेस्ट इण्डिज ‘ए’ सँग पाचौं खेल खेल्दै नेपाल, दुई खेलाडी परिवर्तनको सम्भावना
तस्बिर : क्यान

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको टी–२० सिरिजको अन्तिम तथा पाँचौं खेल शनिबार हुँदैछ । यी दुई टोलीबीचको पाँचौं टी–२० पनि दिउँसो १२ः१५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

सिरिज नेपालले एक खेलअगावै गुमाइसकेको छ । नेपालले सिरिजको पहिलो खेल ४ विकेटले जिते पनि त्यसपछिको तीन खेलमा भने लगातार हार बेहोर्‍यो ।

नेपाल अब शनिबार जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । पाहुना टिम वेस्ट इण्डिज पाँचौं खेलमा पनि जित हात पारेर ४–१ ले श्रृंखला आफ्नो पक्षमा पार्ने दाउमा छ । यस सिरिजमा वेस्ट इण्डिजका अनुभवी खेलाडी आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले सानदार ब्याटिङ गरिरहेका छन् ।

फ्लेचरले ४ खेलमा १९३ तथा चार्ल्सले १८८ रन बनाएका छन् । नेपालका लागि कप्तान रोहितकुमार पौडेलबाहेक अन्यको ब्याट चल्न सकेको छैन । उनले तीन खेलमा १७७.८५ को सानदार स्ट्राइक रेटमा सर्वाधिक २ सय ६५ रन बनाएका छन् ।

रोहितको सानदार ब्याटिङको मद्दतमा नेपालले वेस्ट इण्डिजविरुद्ध प्रतिस्पर्धात्मक म्याच खेल्न सकेको छ । उनकै सानदार शतकमा नेपालले पहिलो खेलमा वेस्ट इण्डिजलाई हराउँदै इतिहास रच्यो ।



दोस्रो खेलमा अविजित ७१ रनको पारी खेलेका रोहितले नेपाललाई जित नजिक पुर्याए । उक्त खेलमा नेपाल १० रनको झिनो अन्तरले पराजित भयो । तेस्रो खेलमा विश्राम पाएका रोहितले चौथो टी–२० मा पनि सानदार ब्याटिङ गरे ।



उनले ४७ बलमा ८२ रन बनाउँदाका बाबजुद यस खेलमा नेपाल २८ रनले स्तब्ध भयो । रोहित अन्तिम खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाउन पूरा मिहिनेत गर्नेछन् ।

नेपालले पाँचौं खेलमा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले शनिबार प्रतिश जिसी र ललितनारायण राजवंशीको ठाउँमा करण केसी र सागर ढकाललाई मौका दिने सम्भावना रहेको हो । ब्याटिङ लाइन बलियो बनाउन नेपालले पाँचौं खेलमा करणलाई मौका दिने सम्भावना छ ।

साथै, जारी सिरिजमा ललित खासै लयमा नभएकाले अन्तिम खेल जित्नैपर्ने रणनीति बनाएका प्रशिक्षक मोन्टी देसाईले सागरलाई प्लेइङ–११ मा राख्न सक्छन् । जारी सिरिजमा उनी राम्रो बलिङ गरिरहेका छन् । उनले दुई खेलमा ७.५० को इकोनमीमा तीन विकेट लिएका छन् ।  

नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सागर ढकाल ।

  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार ६:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया