logo-img

प्रतिनिधिसभामा खुम्चिए उपेन्द्र यादव
फाइल तस्बिर

सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विदेश उड्नुअघिसम्म उनको पार्टीमा कुनै खटपट देखा परेको थिएन । तर, राष्ट्र संघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिन अमेरिका पुगेका यादव स्वदेश फर्किँदा उनी फुटेको पार्टीको अध्यक्षमा खुम्चिएका थिए । 

आफू प्रवासमा रहेका बेला पार्टी फुटाएर अलग्गिएका साथीहरूले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया थालिसक्दा अध्यक्ष यादव काठमाडौं उत्रिएका थिए । जसपाकै नेता अशोक राईले प्रतिनिधि सभाका सात सदस्यसहित बहुसंख्यक नेता लिएर नयाँ पार्टी जनता समाजवादी गठन गरिसकेका छन् । यो पार्टीले निर्वाचन आयोगबाट वैधानिक हैसियत लिने प्रक्रियामा छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हैसियतमा राष्ट्र संघ पुगेका उपप्रधानमन्त्री यादवको रामशाहपथस्थित कार्यकक्ष मर्मतसम्भार गरेर सोमबार नै तयार गरिएको थियो । धेरैवटा ढोका र झ्याल भएको स्वास्थ्य मन्त्रालयको भवनमा मन्त्रीको कार्यकक्षका अनावश्यक ढोका टालेर नयाँपन दिइएको हो ।

मन्त्री कार्यालय फर्किनुअघि नै कार्यकक्षमा नयाँपन सिर्जना गरेर उनलाई प्रसन्न तुल्याउन मन्त्रालय प्रशासन क्रियाशील थियो । तर, पार्टी फुटेको पीडा र रोश बोकेर फर्किएका यादवलाई उनको सचिवालयले प्रसन्न देख्न पाएन ।

प्रतिनिधि सभामा हिजोभन्दा कमजोर भएका यादव सत्ता गठबन्धनमा रहिरहने कि विकल्प सोच्ने भन्ने मनस्थितिमा सहकर्मीसँग परामर्श गर्ने तयारीमा रहेका उनीसँग सम्बद्ध सूत्रले बताएको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर स्वदेश फर्किसकेका छन् । यता, गठबन्धनका परिकल्पनाकार मानिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो दललाई सबैभन्दा ठूलो दल बनाउने रणनीतिमा राजनीतिक सक्रियता बढाइरहेको बुझिएको छ ।



नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दुई पार्टी मिलेर मात्र देशका कतिपय विषयको समाधान गर्न सम्भव भएको भनेर एमाले र कांग्रेसको सत्ता गठबन्धनको पैरवी गरिरहेका छन् । यही अभियानमा जसपा विभाजनलाई पनि जोडेर हेरिएको पाइन्छ ।

राष्ट्रसंघको प्रधान कार्यालयमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसंघ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएको खबर सार्वजनिक हुने क्रममै उनको पार्टी फुटिसकेको थियो । यो फुटलाई सम्भावित एमाले र कांग्रेस सहकार्यको अंश त होइन भनेर राजनीतिक क्षेत्रमा टीकाटिप्पणी भइरहेको पाइन्छ ।



  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १३:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया