पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अदालत जाने भएका छन् । त्यसबारे छलफल र निर्णय गर्न बुधबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र त्यसपछि अदालत जाने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
उनका अनुसार बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरिएको छ । ‘आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ, बैठकपछि पत्रकार सम्मेलनमा राखेका छौँ,’ उनले भने, ‘हामीले आफ्ना कुरा त्यहीबाट राख्छौँ । तर हामी अदालत जाने तयारीमा छौँ ।’
सुमनका अनुसार बिहान बैठक बस्ने र साढे ११ बजेपछि पत्रकार सम्मेलनबाट धारणा सार्वजनिक गर्ने कार्यक्रम छ । पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा सात जना सांसदले नयाँ पार्टी स्थापना गरेका छन् ।
उनीहरूको निवेदनउपर कारबाही गर्दै निर्वाचन आयोगले सोमबार नै पार्टी दर्ताको निर्णय गरिसकेको छ । तर, यादव पक्षले भने संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकिर गर्दै विभाजन षड्यन्त्रपूर्ण तरिकाले गराइएको आरोप लगाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।