logo-img

संघीय संसदको बजेट अधिवेशन आजदेखि, पहिलो दिन के-के छन् कार्यसूची ?
फाइल तस्बिर

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्से अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसदको दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन सुरु हुन लागेको हो । 

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपरान्ह २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) १५ जेठमा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

अधिवेशनको पहिलो दिन सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने पनि कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पनि पढेर सुनाउनेछन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० अनुसार सभामुखले  बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ । 



संसद सचिवालयका अनुसार शुक्रबार दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची रहेको पनि छ । आजको संसद बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पनि पेस गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।



बजेट अधिवेशनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् । 

  • प्रकाशित मिति : वैशाख २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया