logo-img

मधेशका मुख्यमन्त्री यादवको पद संकटमा, एमाले-माओवादी सरकारबाट बाहिरिने तयारीमा
मुख्यमन्त्री सरोजकुमार यादव, फाइल तस्बिर

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ । मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । 

अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकार छोड्ने तयारीमा छन् । पार्टी विभाजनले केन्द्रमा कमजोर बनेका उपेन्द्रलाई मधेशमा आफ्नो दल नेतृत्वको सरकार जोगाउन सकस भएको छ । एमाले र माओवादी केन्द्रले भने मधेशमा नयाँ सरकार बनाउन कसरत सुरु गरिसकेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूबीच बिहीबार प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा समेत छलफल भएको छ । 

मुख्यमन्त्री सरोजकुमार यादव पनि आफ्नो सरकार बचाउन लबिङ गरिरहेका छन् । त्यसो त अहिले जसपा विभाजनको असर मधेशमा कस्तो पर्छ भन्ने प्रष्ट भइसकेको छैन । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । 

यादव नेतृत्वको सरकारलाई अहिले जसपासहित एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । यादवलाई एमालेका २४, माओवादीका ९, एकीकृत समाजवादीका सात, नागरिक उन्मुक्तिका एक र जसपा नेपालका १९ गरी ६१ सांसदले विश्वासको मत दिएका थिए । जसअनुसार हाल विपक्षमा कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, राप्रपाका एक र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् । यसआधारमा यहाँ ४६ सांसद छन् । 

जसपा नेपालमा भएको विभाजनपछि मधेशमा कुन दलमा कति सांसद रहन्छन् भन्ने निश्चित छैन । जसपा विभाजनले आउने परिणामले नै मधेशमा कसको सरकार बन्ने भन्ने निर्धारण देखिन्छ । 

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि छलफल सुरु भएको बताए । 



‘अहिले प्रारम्भिक छलफल भएको छ । हामी नेतृत्व कसले लिने भन्नेबारेमा छलफल गरिरहेका छौँ,’ बिहीबारको छलफलपछि उनले भने, ‘केन्द्रका नेताहरूको समेत राय बुझेर अघि बढ्छौँ ।’

प्रदेशमा एमाले र माओवादीले सरकार छोड्ने तयारी गरे पनि केन्द्रमा भने जसपा नेपालका अध्यक्ष यादवले सरकार छोड्ने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छैनन् । 



उनले बुधबार पत्रकार सम्मेलन नै गरेर वर्तमान सरकारले पार्टीले दिएको समर्थन कायम रहने बताएका थिए । तर, बिहीबारको मन्त्रिपरिषद् बैठकमा भने यादव सहभागी भएनन् । मधेशमा भने एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई छोडेर जनमतसँग संवाद गर्ने तयारी गरेको बुझिएको छ । यस्तोमा केन्द्रमा समेत जनमत सरकारमा सामेल हुन सक्ने नेताहरूले बताएका छन् । 

नवगठित जसपाका महासचिव मोहम्मद इस्तियाक राईले भने मधेशमा पनि आफूहरूकै बहुमत हुने दाबी गरे । ‘मधेशमा फेरि पनि केन्द्रीय गठबन्धनकै सरकार हुन्छ । हामीले मधेशमा पनि बहुमत जुटाउँछौँ, अहिलेको सरकार अब रहँदैन,’ उनले भने । 

२७ पुस २०७९ मा मधेशको मुख्यमन्त्री बनेका यादव त्यसयता निरन्तर मुख्यमन्त्री छन् । उनले पछिल्लो पटक गठबन्धन फेरबदल भएपछि चौथोपटक विश्वासको मत लिएका थिए । 

  • प्रकाशित मिति : वैशाख २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया