logo-img

अफगानिस्तानमा बाढीबाट तीन सयभन्दा धेरैको मृत्यु

अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघले शनिबार बताएको छ । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन् ।

शुक्रबारको भारी वर्षाले धेरै प्रान्तका गाउँ तथा कृषिभूमिमा पानी र लेदोको नदी बग्दा उत्तरी बघलान सबैभन्दा बढी प्रभावित भएको थियो ।

बघलानमा मात्रै दुई सय भन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ घर क्षतिग्रस्त भएको संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले एएफपीलाई बताएको छ ।

आइओएमको आपत्कालीन प्रतिक्रियाको नेतृत्व गर्ने राष्ट्रिय कार्यक्रमका अधिकारी मोहम्मद फहिम सफीले सरकारी तथ्यांक उद्धृत गर्दै बघलानी जादिद जिल्लामा एक हजार पाँच सय घर क्षतिग्रस्त वा नष्ट भएको र ‘एक सयभन्दा बढी मानिसको मृत्यु भएको’ बताए । 

तालिबान सरकारका अधिकारीहरूले शुक्रबार रातिसम्म ६२ जनाको मृत्यु भएको बताएका थिए । सयौँ नागरिकले विनाशकारी बाढीमा परी मृयु वरण गरेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जनाए । मृतक र घाइतेको संख्यामा भिन्नता नदेखाई उनले एएफपीलाई दर्जनौँ मारिएको बताए । 
    
शुक्रबारको वर्षाले उत्तरपूर्वी बदख्सान प्रान्त, मध्य घोर प्रान्त र पश्चिमी हेरातमा पनि ठूलो क्षति पुर्याएको अधिकारीहरूले बताए । रक्षा मन्त्रालयका अनुसार आपत्कालीन कर्मचारीहरू घाइते र फसेका मानिसहरूलाई बचाउन हतारिएका छन् । 

मानवीय हताहतका अतिरिक्त, बाढीले ठूलो आर्थिक क्षति पनि पुर्याएको छ । उत्तरी तखर प्रान्तको प्राकृतिक प्रकोप व्यवस्थापन विभागका प्रमुख अहमद सेयर साजिदले बाढीमा २० जनाको मृत्यु भएको अनुमान गरे । 



रक्षा मन्त्रालयले धेरै शाखाहरूलाई सबै उपलब्ध स्रोतहरूका साथ यस घटनाबाट पीडितहरूलाई कुनै पनि प्रकारको सहायता प्रदान गर्न आदेश दिएको छ ।

वायु सेनाले शनिबार मौसम सफा भएपछि निकासी अभियान सुरु गरेको र सयभन्दा बढी घाइतेहरूलाई अस्पतालमा सारिएको बताएको छ । 



बाढी प्रभावित क्षेत्रहरूमा आपत्कालीन अवस्था घोषणा गरेर राष्ट्रिय रक्षा मन्त्रालयले प्रभावित मानिसहरूलाई खाना, औषधि र प्राथमिक उपचार वितरण गर्न थालेको छ । 

सामाजिक सञ्जालमा शुक्रबार देखिएको भिडियो फुटेजमा सेतो र कालो कपडाले ढाकिएका शवहरू र सडकहरूमा माटो र पानीको दलदलको देखाइएको छ ।

एउटा भिडियो क्लिपमा बच्चाहरू रोइरहेका सुनिन्छन् र मानिसको समूहले बाढीको पानी हेरिरहेका छन्, जसमा घरहरूबाट भाँचिएको काठ र भग्नावशेषको टुक्रा देख्न सकिन्छ ।

अधिकारीहरूका अनुसार अप्रिलको मध्यदेखि आकस्मिक रूपमा आएको बाढी र अन्य बाढीले अफगानिस्तानका १० वटा प्रान्तमा लगभग एक सयजनाको ज्यान लिएको थियो ।

करिब चार करोडभन्दा बढी जनसङ्ख्यामध्ये ८० प्रतिशत बाँच्नका लागि कृषिमा निर्भर रहेको देशमा कृषिभूमि बाढीले दलदल बनेको छ ।

  • प्रकाशित मिति : वैशाख २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया