logo-img

सरकार छाड्ने नेकपा एसको संकेत, प्रवक्ता भन्छन्– भूमिकाविनै सरकारमा बस्नुको औचित्य हुँदैन

नेकपा एकीकृत समाजवादीले सत्ता साझेदारीमा निरन्तरताका लागि प्रधानमन्त्रीसँग प्रभावकारी भूमिकाको जिम्मेवारी खोज्ने संकेत गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले बस्ने वा छाड्ने अन्योलबीच रहिरहन ‘बार्गेनिङ’को नीति लिने देखिएको हो । 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले मुलुकलाई राजनीतिक स्थिरता प्रदान गर्नका लागि एकीकृत समाजवादी सरकारमा बस्न जहिले पनि तयार रहेको बताएका छन् । सोमबारको पोलिटब्यूरोको बैठकपछि उनले सञ्चारकर्मीसँग शक्ति अनुसारको समान हैसियत प्राप्त गर्ने हो भने राजनीतिक स्थिरता प्रदान गर्नका लागि सरकारमा बस्न तयार रहेको बताए । 

उनले भने, ‘हामी आफ्नो अडानमा छौँ, सरकारमा किन बस्ने हाम्रो दृष्टिकोण प्रष्ट छ । शक्ति अनुसारको समान हैसियत प्राप्त गरे, राजनीतिक स्थिरता प्रदान गर्नको लागि हामी सरकारमा बस्न जहिले पनि तयार छौँ । तर, नीतिविना, कार्यक्रमविना नीति कार्यक्रम र बजेटमा हाम्रो भ्रमिकाविना सरकारमा बस्ने कुरा प्रश्नवाचक नै बन्छ ।’

यस्तै, उनले पार्टीको केन्द्रीय कमिटीको बैठक जेठ १ र २ गते हुने जानकारी पनि दिए । उनले भने, ‘चारवटा दस्तावेजहरु राजनीतिक प्रतिवेदन, पार्टीको कार्यक्रम, विधान र संगठनात्मक प्रस्तावमा आज ४१ जनाले आफ्नो धारणा राख्नु भएको छ । ती धारणाहरुलाई सम्पादन गरेर राजनीतिक प्रतिवेदनमा राख्ने छ । पार्टीको केन्द्रीय कमिटीको बैठक जेठ १ र २ गतेमा सम्पन्न हुनेछ ।’ 

पार्टीका सम्मानित नेता झलनाथ खनालले सञ्चारकर्मीको प्रश्नमा पार्टीको राजनीतिक प्रतिवेदनले सरकार छाड्ने निर्णय नगरेको बताए । उनले भने, ‘हाम्रो पार्टीको राजनीतिक प्रतिवेदनले सरकार छोड्ने निर्णय गरेको छैन ।’
 





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया