logo-img

सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस गरिँदै, राष्ट्रपतिले प्रस्तुत गर्ने कार्यसूची

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेस हुँदैछ । संघीय संसदका दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको हो । 

संसदमा राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक सबै तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष १५ जेठमा सरकारले बजेट ल्याउनुअघि संघीय संसदका दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । जसअनुसार मंगलबार संघीय संसदलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन् ।

संसद् सचिवालयका अनुसार संघीय संसदका सबै सदस्यलाई दिउँसो २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइ आफ्नो आसनग्रहण गरिसक्न अनुरोध गरिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट सम्बोधन हुने संयुक्त बैठकलाई व्यवस्थित गर्न सोमबार सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।

त्यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित संघीय संसदमा रहेका दलका नेतासँग बैठक सञ्चालनका विषयमा परामर्श गरेका थिए । 

राष्ट्रपति पौडेलले सम्बोधन गर्ने बैठकमा विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई समेत निमन्त्रणा गर्ने अभ्यास रहेको छ । संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ ।



त्यसका लागि प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बोलाइएको छ । यस्तै, राष्ट्रियसभा बैठक अपरान्ह साढे ५ बजे बस्नेछ । 



  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया