logo-img

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक (भिडियो)

यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। 

मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ। गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ।

यसअघि चलचित्रका रोमान्टिक गीतहरू सार्वजनिक भएका थिए भने यो गीतले दुःखका भावना व्यक्त गरेको छ। यस गीतमा बी. पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर रहेको छ। हाम्रो समाजका पात्रहरूले भोगिरहेका विभिन्न प्रकृतिका समस्याहरूलाई गीतको रूपमा रचना गर्न खप्पिस पाण्डेले मार्मिक शब्द लेखेका छन्। 

उनका शब्दलाई सुवास भुसालको संगीत र केतन क्षेत्रीको स्वरले मन छुने बनाएको छ। करिब २ सय गीत रचना गरेका पाण्डेले भुसालकै संगीतमा रहेको र दिनेश राउतले नै निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा ‘वनकी चरी के भन्छे’ तथा चलचित्र ‘सेल्फी किङ’को लागि भुसालकै संगीतमा ‘जाली रुमाल’ बोलका गीत रचना गरेका थिए। ती दुवै गीत सुपर हिट छन्। 

‘जाऊँ माया’ गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात् नौ डाँडा काटेर जान प्रेमिकालाई आग्रह गरेको कुरा जनाउँछन्। ‘तिर्खा लाग्दा एकै घुट्की पानी अमृत हुन्छ, जसले भोग्छ उसैलाई पीडा थाहा हुन्छ,’ ‘देउता पनि मान्छे जस्तै बोली दिने भए, मेरै पिरले दुनियाँलाई पोली दिने भए’जस्ता शब्दहरूले जिन्दगीको वास्तविक भोगाई र त्यसको पीडा सहजै बुझाउँछन्। 

यही गीतमा रहेका ‘घाम पानीमा पोखिइदिने हुन्न रछ माया, सुन पानीले चोखिइदिने हुन्न रछ माया’जस्ता शब्दहरूले जातीय छुवाछुतको मारमा परेका प्रेमीको भावना व्यक्त गरेका छन्। कुनै न कुनै रूपमा सबै मानिसको जीवनमा यस प्रकारका घटना घटेका वा महसुस गरिएका हुन सक्छन्, जुन कुराले चलचित्रलाई पर्खिरहेका दर्शकलाई झनै उत्साहित बनाउने अनुमान लगाउन सकिन्छ। 



यस चलचित्रका यसअघि सार्वजनिक ट्रेलर, टिजर, पोस्टर र गीतहरू अत्यधिक रुचाइएको छ। यस चलचित्रमा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा परेको छ। 

ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।



चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया