logo-img

विनवार्ड्ससँग दोस्रो टी–२० खेल्दै नेपाल, एक खेलअगावै सिरिज जित्ने मौका

आसन्न आइसिसी टी–२० विश्वकपको तयारीका लागि क्यारेबियन देश सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडिन्समा रहेको नेपाली क्रिकेट टोलीले आज विनवार्ड्स भोलक्यानोजविरुद्ध दोस्रो अभ्यास म्याच खेल्दैछ ।

यी दुई टिमबीचको दोस्रो खेल राति ८ः१५ देखि सुरु हुनेछ । सिरिजमा नेपाल १–० ले अघि छ । मंगलबार भएको पहिलो खेलमा नेपालले विनवार्ड्सलाई ४ विकेटले हरायो । 

नेपाल बिहीबार पनि जित निकालेर एक खेलअगावै मैत्रीपूर्ण सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । उता घरेलु टिम नेपाल विनवार्ड्स पहिलो जितको खोजीमा छ । उसले वेस्ट इण्डिजबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका काओइब होज, जेर्मी सोलोजानो, शेर्मोन लुईस र टेडी विश्वपलाई पनि नेपालविरुद्ध खेलिरहेको टिममा राखेको छ ।

अब उनीहरू दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विनवार्ड्सलाई सिरिजमा जीवित राख्न चाहन्छन् । दोस्रो खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना छ । बिहीबार नेपालले अनिलकुमार साह, करण केसी र सागर ढकाललाई विश्राम दिएर कुशल मल्ल, अविनाश बोहरा र ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना रहेको हो ।

दोस्रो खेलमा अनिल साह, करण केसी, कमल सिंह ऐरी र सागर ढकालले विश्राम पाउन सक्छन् । नेपालले विनवार्ड्ससँग तेस्रो अभ्यास खेल शनिबार खेल्नेछ । यो मैत्रीपूर्ण सिरिज खेलेपछि नेपाली टिम अमेरिका फर्किनेछ ।

विश्वकपअघि नेपालले २६ र २८ मेमा क्यानडा र अमेरिकासँग वार्मअप म्याच खेल्नेछ । त्यसपछि नेपालले विश्वकपमा ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।



विश्वकपका लागि पूर्वकप्तान तथा स्टार स्पिनर सन्दीप लामिछाने पनि केही दिनभित्र टिमसँग जोडिने छन् । बुधबार उच्च अदालत पाटनले एक मुद्दामा सफाइ दिएसँगै उनी विश्वकपका लागि टिममा जोडिने भएका हुन् । सन्दीपले विश्वकप खेल्ने भएसँगै नेपालको टोली थप सन्तुलित देखिनेछ ।   



  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया