logo-img

स्लोभाकियाका प्रधानमन्त्रीमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी
फाइल तस्बिर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गरेका छन् । साथै, उनले प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

‘स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहारको खबरले गहिरो आघात लाग्यो । म यो कायरतापूर्ण कार्यको कडा निन्दा गर्दछु र प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भारत स्लोभाक गणतन्त्रका जनतासँग एकतामा उभिएको छ’, सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भने ।

स्लोभाकियाका चौथोपटक प्रधानमन्त्री रहेका रोबर्ट फिको बुधबार (स्थानीय समय) ह्यान्ड्लोभामा गोली प्रहारमा परी घाइते भएका स्थानीय पत्रिका द स्लोभाक स्पेक्टेटरले जनाएको छ । आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री फिको मानिसलाई भेट्न निस्किँदा घटनास्थलमा गोली प्रहार गरिएको थियो । आरोपित आक्रमणकारीलाई घटनास्थलमै पक्राउ गरिएको थियो र उक्त क्षेत्र खाली गराइएको थियो ।
 
प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्री फिको उनलाई स्वागत गर्ने मानिसलाई भेट्न बाहिर आएपछि गोलीको आवाज सुनिएको थियो । त्यसपछि फिकोलाई रगतमा लतपतिएको अवस्थामा भुइँमा लडेको पाइयो ।  
 
यो घटना ह्यान्डलोभामा भएको सरकारी बैठकपछि भएको हो र घटनापश्चात प्रधानमन्त्री फिकोलाई तुरुन्त अस्पतालमा भर्ना गरियो । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले घटनाको बारेमा सुनेर आफू ‘स्तब्ध’ भएको बताएका छन् । ‘यो भयानक समाचार सुनेर स्तब्ध भएँ । हामी प्रधानमन्त्री फिको र उहाँको परिवारको साथमा छौँ’, उनले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री लेखेका छन् । 

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले स्लोभाकियाका प्रधानमन्त्रीविरुद्ध हिंसाको निन्दा गरेका छन् । ‘स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको आक्रमण भयावह छ । हामी हाम्रो छिमेकी साझेदार राज्यको सरकारका प्रमुखविरुद्धको हिंसाको कडा निन्दा गर्दछौँ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।  





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया