logo-img

कांग्रेसका सांसदलाई आफ्नो कार्यकर्ताजस्तो नठान्न ओलीलाई गगनको चेतावनी
'फाइल खोल्छु भनेर धम्की दिन पर्दैन, काम गरेर देखाऊ'

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले जसको फाइल खोले पनि हुने बताएका छन् । सरकारमा बसेका मन्त्रीहरुले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै उनले काम गरेर देखाउन आग्रह गरे। 

प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले सबै फाइल खोले पनि कांग्रेस त्यसको लागि तयार रहेको स्पष्ट पारेका हुन् । उनले संसदभित्र उत्पन्न अप्रिय स्थितिको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन्।

सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको आरोप लगाए । संसदमा जबर्जस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको उनको ठहर छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ताजस्तो ठानेको भन्दै महामन्त्री थापाले कांग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिए।

सभामुखले जबर्जस्ती सरकारी काम कारबाही अगाडि बढाउन खोजेपछि आफूहरू आफ्नो ठाउँबाट उठेर सरकारको काम, कारबाही रोक्न खोजेको उनले बताए । उनले भने, ‘तर, एमालेका अध्यक्षज्यू एउटा कुरामा झुक्किनु भयो जस्तो लाग्यो। उहाँले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठान्नुभयोजस्तो लाग्यो।’

एमालेका सांसदहरुलाई झैँ हप्काउने, धम्क्याउने, तर्साउने, उठबस गराउने नगर्न उनले ओलीलाई चेतावनी दिए । ‘हामी तपाईंका कार्यकर्ता होइनौँ। हामी तपाईंलाई सम्मान गर्छौं। तपाईंले हामीलाई अह्राउने होइन भन्ने कुरा जानकारी गराउन चाहन्छौँ।’





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया