logo-img

सभामुखप्रति कांग्रेस रुष्ट, कायमै समिति गठनको अडान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद् बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको छ । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखले बैठकपछि बोल्दै सहकारीको रकम अपचलनमा गृहमन्त्री एवं रास्वपा सभापति लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रूपमा राखिएको बताए ।

लेखकले भनेका छन्, ‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ । कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’ 

आजको बैठकले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर समेत गरेको लेखकले जानकारी दिए । ‘प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । विपक्षी दल उभियो भने मात्रै पनि संसद् अवरोध मानिन्छ । वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’ कांग्रेस बैठकले निष्कर्ष निकालेको छ । 

लेखकले भने सभामुखले सभामा तटस्थ हुन नसकेको बताएका छन् । ‘सम्माननीय सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निष्पक्षता कायम राख्न आग्रह गरेका छौँ ।’

संसदीय दलको बैठकले गरेका निर्णयहरू



 १. लाखौँ नेपाली नागरिकले सहकारी संस्थामा बचत गरेको अरबौँ रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्य कार्यमा नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री माननीय रवि लामिछाने संलग्न रहेको विषय निरन्तर उठिरहेको छ । सहकारीका बचतकर्ताहरूले राखेको रकमको सुरक्षाको ग्यारेन्टी गर्न, बचत हिनामिना भई पीडित भएका बचतकर्ताहरूको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानबिन गरी कारबाही गर्ने सुनिश्चितताको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेस सहित संघीय संसदमा धेरै दलहरूले उठाई रहेका छन् । यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद् बाहिर पनि गम्भीर रूपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ । 

२. नेपाल सरकार सहकारी ठगीबाट पीडित भएका नागरिक प्रति गैर जिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ । 



३. प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिङ्गो सदनको सभामुख हुनु पर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ । 

  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया