logo-img

गर्मी बढेको बढ्यै, तराईको तापक्रम ४० डिग्री नाघ्यो

नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । 

देशका कतिपय स्टेसनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताइन् ।

उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिइन् । ‘तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेसनमा ४० डिग्री तापक्रम पुगेको थियो । अहिले पनि तीन/चार स्टेसनमा ४० डिग्री कटेको देखिन्छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ’, उनले भनिन् ।

मौसमविद् मानन्धरका अनुसार कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ । ‘पूर्वी भेगमा बादल लागेको अवस्था छ, पश्चिमतर्फ वर्षा गराउने बादल देखिँदैन त्यसैले गर्मी अझै बढ्ने देखिन्छ,’ उनले भनिन् ।

मौसमविद् मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । उक्त तापक्रम हालसम्मकै उच्च हो । काठमाडौंमा ७ मे १९८९  मा अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो ।

तीन दिनयता काठमाडौं उपत्यकामा गर्मी महसुस भएको छ । काठमाडौंमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ । यो वर्ष १३ जुन अर्थात् ३१ जेठदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया