logo-img

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा, २ हजारभन्दा बढी घरधुरी लाभान्वित

चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली ‘थ्री बी हब सवस्टेशन’को आज उद्घाटन गरिएको छ । सो सबस्टेशनको क्षमता दुई सय २०/१३२/३३ केभी रहेको छ । 

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसनको पनि आजै उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन , युरोपेली सङ्घ (इयु) का राजदूत भेरोनिक लोरेञ्जो , जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक (इआइबी) का निर्देशक थौउराया ट्रिकीले आज संयुक्तरुपमा त्रिशूली ‘थ्री बी हब र भाल्चे सबस्टेसन’ उद्घाटन गरे ।  

करिब एक सय चार रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत रु एक अर्ब ९७ करोड रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत रु ४२ करोड ९३ लाख रहेको छ । 

नुवाकोट र रसुवाका प्रसारण लाइन तथा सबस्टेसनबाट प्रभावित र त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । यसबाट नुवाकोट र रसुवाका २ हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।  

उद्घाटन समारोहमा मन्त्री बस्नेतले त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि मात्र नभएर समग्र देशको विद्युत् प्रणाली व्यवस्थापन गर्न सबस्टेसन निर्माणबाट महत्वपूर्ण पाइला थपिएको बताए । 



आगामी १२ वर्षभित्रमा २८ हजार मेगावट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणको क्षेत्रलाई लगानी मैत्री बनाउन नीतिगत, कानुनी र संरचना सुधार सुरु गरिसकिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्राकृतिक स्रोतमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई हिस्सेदार बनाउने गरी आयोजना अगाडि बढाइएको बताए । रासस 



  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया