logo-img

इजरायललाई रफाहमा संयमता अपनाउन १३ देशको अनुरोध

परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन् ।  

‘हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि हाम्रो विरोध दोहोर्याउँछौँ, यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम ल्याउनेछ’, ती मुलुकका विदेशमन्त्रीद्वारा आफ्ना इजरायली समकक्षी इजरायल काट्जलाई पठाइएको र सार्वजनिक गरिएको अपिलमा भनिएको छ ।

हस्ताक्षरकर्तामा अस्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानडा, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोपेली सङ्घ (इयु) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र स्विडेन छन् । 

मन्त्रीहरूले गाजामा अन्तर्राष्ट्रिय सहायताको प्रवाहमा सुधारका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको मन्त्रिपरिषद्ले अपनाएको हालैको उपायहरूको स्वागत गर्नुभएको छ तर ‘थप कदम’ का लागि आह्वान गरेका छन् । 

‘मानवीय सहायतालाई रफाहसहित सबै प्रासङ्गिक क्रसिङ विन्दुमार्फत गाजा पट्टीमा प्रवेश गर्न दिन हामी इजराइल सरकारसँग आग्रह गर्दछौँ’, उनीहरूले भनेका छन् । उनीहरूले इजरायलसँग ‘नागरिक, अन्तर्राष्ट्रिय तथा स्थानीय मानवीय सहायता कार्यकर्ता र पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम’ चाल्न आह्वान गरे । 

अपिलमा ‘स्थायी युद्धविराम’ को पनि आह्वान गरिएको छ । मन्त्रीहरूले इजराइलसँग सहायताका लागि ‘गाजामा सबै सम्भावित भूमिगत आपूर्ति मार्ग खोल्न’, ‘विद्युत्, पानी र दूरसञ्चार सेवाहरू पुनः सुरु गर्न’ र ‘गम्भीररूपमा आवश्यक वस्तुहरूको आपूर्ति, विशेषगरी चिकित्सा आपूर्ति’ लाई बढावा दिन आग्रह गरेका छन् ।



युद्ध सुरु भएको आठ महिनापछि इजरायलले दक्षिणी सहरमा हजारौं विस्थापित प्यालेस्टिनीका लागि अन्तर्राष्ट्रिय चिन्ताका बाबजुद रफाहमा आफ्नो स्थल आक्रमणलाई तीव्र बनाउने वाचा गरिरहेको छ । 

गाजामा इजरायली घेराबन्दीले २४ लाख मानिसका लागि खाद्यान्नका साथै सुरक्षित पानी, औषधि र इन्धनको चरम अभाव ल्याएको छ । गत साता इजरायली सेनाले रफाह क्रसिङको गाजा क्षेत्रमा नियन्त्रण गरेपछि कहिलेकाहीँ सहायता गाडीहरूको आगमनमा कमी आएको छ ।  



  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया