logo-img

संसद् सधैँ बन्धक बन्न सक्दैन, अध्यादेशको बाटोबाट जानुपरे लोकतन्त्र बलियो हुँदैन : सभामुख
फाइल फाेटाे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।  

‘नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुन सक्ने वातावरण नभएमा अध्यादेशको बाटोबाट जानुपर्ने हुन्छ । यस्तो स्थिति आएमा लोकतन्त्रको मार्ग बलियो हुन सक्दैन’, सभामुख घिमिरेले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि समय मागिसक्नुभएको छ । यस्तो अवस्थामा सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र स्वतन्त्रताका क्षेत्रमा काम गर्ने पत्रकारिताजगत्ले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘यो व्यक्तिगत टिप्पणीको कुरा होइन । अहिले संसदमा जे गतिविधिहरू भइरहेका छन् त्यो राम्रो सङ्केत होइन । संसदमा के भइरहेको छ र के हुनुपर्छ यो सबैको चासोको विषय हो । किनभने संसदमा हुनुपर्ने बहस र छलफलहरू अगाडि बढ्न सकिरहेको छैन । संसद् बन्धक बनिरहेको छ । जनताका प्रतिनिधिहरूले जनताको अभिमतहरू राखेर निर्णय गर्ने ठाउँ आज अवरोध छ ।’

उनले संसद् सधैँ अवरुद्ध रहने हो भने संसद्लाई अन्त्य गरेर अध्यादेशको माध्यमबाट कतिपय बाटोहरू खोल्नुपर्ने अवस्था आउन सक्ने बताए । 

उनले भने, ‘यस्तै चल्ने हो भने निकटमा आइरहेको बजेट पारित गर्ने कुरा अथवा यस्तै अन्य विषयहरूका लागि नयाँ बाटो खोज्नुपर्ने हुनसक्छ । अहिले सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिरहेको अवस्थामा सरकारले बहुमत देखाउँछु भनेर बहुमतको लागि मिति पनि तोकेको अवस्था छ । यस्तो अवस्थामा संसद् अवरुद्ध भयो भने के परिणाम आउँछ । त्यसैले यो बेला संसद्लाई अन्त्य गरेर अध्यादेशको माध्यमबाट यस्ता कतिपय बाटोहरू खोल्नुपर्ने अवस्था आउँछ । अहिलेको अवस्थामा हामी गयौँ भने प्रजातन्त्रलाई कसरी उपयोग गर्ने भन्ने कुरा फेरि वह समा आउन सक्छ ।’



हालकै प्रणाली अन्तरगत संसद् रोकिएर बस्न सक्दैँन र बस्नु पनि नहुने भन्दै यसमा निर्णय लिनको लागि सबैको साथ सहयोग आवश्यक भएको पनि उनको भनाइ छ । सभामुख घिमिरेले यति बेला सरकार, व्यवस्थापिका र न्यायपालिकाको राष्ट्र र जनताप्रति भूमिका के हो भन्ने कुरा जनताले बुझेन भएकाले यसको समीक्षा हुनुपर्ने औँल्याए । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ । उनले समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्थाबीच राजनीतिक स्थायित्व र समृद्धिका लागि पत्रकारलाई कलम चलाउन सुझाव दिए ।

नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री  मीनेन्द्र रिजालले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले जनताबाट निर्वाचितहरुले आफूले जे गरे पनि हुन्छ भन्ने दम्भ र निरङ्कुश भावनाले काम गरेमा लोकतन्त्रमा आघात पर्ने विश्व परिवेशका सन्दर्भ उल्लेख गर्दै व्यक्तिगत स्वतन्त्रलाई सम्मान गर्न नसकिए लोकतन्त्र सबल नहुने स्पष्ट पारे । उनले मुलुकको विद्यमान अवस्थामा तात्विक सुधार नहुने हो भने नेपालको संविधान जोखिममा पर्न सक्नेतर्फ पत्रकारिताजगत् सचेत हुनुपर्ने बताए । 



  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया