logo-img

संसदको गतिरोध हट्ने र विश्वासको मत पाउनेमा प्रधानमन्त्री ढुक्क, कांग्रेसले पनि देला मत ?

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ, भोलिसम्म सदनको अवरोध हट्ने छ ।’ उनले यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

 उनले सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको भन्दै आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए ।

उनले भने, ‘सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने  र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ । बजेटमार्फत नीति तथा कार्यक्रमलाई ठीक तवरले सम्बोधन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेटले बोक्नैपर्छ ।’

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुन आवश्यक रहेको उनको भनाइ छ । 

उनले भने, ‘समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचार एकठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ । कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताको आकांक्षा पूरा गर्नका लागि सबै एकीकृत हुनुपर्छ ।’



आमनिर्वाचनपछि प्रचण्ड एमलेलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत लिने बेलामा प्रतिपक्षी दल कांग्रेसले पनि उनलाई मत दिएको थियो । राष्ट्रपति निर्वाचनअघिको सो विश्वासको मतपछि प्रचण्ड कांग्रेससँग समीकरण बनाएर अघि बढेका थिए । 

प्रधानमन्त्रीले आज कांग्रेसका नेताहरूसँग सदन खुलाउने विषयमा छलफल गरेका थिए । छलफलमा प्रचण्ड संसदीय छानबिन समिति बनाउन तयार भएको बताइएको छ । सोही बैठकपछि पेरिसडाँडा पुगेर अवरोधले निकास पाउने र विश्वासको मत पनि पाउनेमा ढुक्क देखिनुले के कांग्रेसले पनि फेरि विश्वासको मत दिन लागेको त होइन ? भनेर विश्लेषण सुरु भएको छ । 



  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया