logo-img

जुनसुकै दल र आस्था भए पनि आर्थिक र सामाजिक रुपान्तरण साझा मुद्दा : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् ।  

कश्यपप्रसाद पौडेलको कथा संग्रह ‘आरनको आगो’ विमोचन समारोहमा शनिबार उनले देशभित्र राजनीतिक संकटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए । देशभित्र आर्थिक संकट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उनले आग्रह गरे ।

‘देशमा राजनीतिक संकट छैन । राजनीतिक संकट त्यसबेला हुन्छ, जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ । ती संकटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौँ । काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ,’ महामन्त्री शर्माले भने,‘जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रुपान्तरण नै हो । त्यसका लागि हामी एकमत हुन आवश्यक छ ।’

पुस्तकको विमोचन गर्दै उनले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख गरे । राजनीतिक व्यक्तित्वलाई लेखन र साहित्यको अभ्यासले सरल मान्छे बन्न सहयोग गर्ने  धारणा राख्दै महामन्त्री शर्माले राजनीतिक व्यक्तिले अध्ययनशील बन्न र लेखन अभ्यास गर्न जोड दिनुपर्ने बताए । 

लेखक पौडेलको आफ्ने दोस्रो कृतिका रूपमा रहेको यस संग्रहमा २१ कथा समेटिएका छन् । कथाहरूमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको उनको भनाइ छ । 

‘विशेषगरी हराउँदै जान थालेका गाउँघरतिरका परम्परागत कुरामा सञ्जीवनी छर्कंदै वर्तमान पुस्तालाई हस्तान्तरण गर्ने प्रयास गरको छु,’ उनले भने, ‘मैले सबै कथामा हाम्रो सामाजिक परिवेश र विषम परिस्थितिको पिँधमा रहेर सुनेको, जानेको र भोगेको कुरा सकभर मर्न नदिई जीवन्त बनाउने प्रयास गरेको छु ।’



कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव डा. तुलसी भट्टराईले लेखक पौडेलको यस कथा संग्रहका अधिकांश कथाले समयको सत्य उजागर गर्न सामाजिक यथार्थमा आधारित भएको चर्चा गरे । उनले भने,‘लेखक पौडेलको कथामा माओवादीको सशस्त्र द्वन्द्वको विषय छ, सामाजिक विकृति छ र विदेश जाने मोह पनि छ । कतिपय कथामा प्रेमलाई च्वास्स छोइएको छ । त्यसकारण पनि यसभित्रका अधिकांश कथाले समयको उजागर गरेको छ ।’

कथा संग्रहबारे समीक्षा गर्दै लेखक एवं पत्रकार लक्ष्मण अधिकारीले वर्तमान कथा लेखन शैलीमा अलि फरक धारका विषयवस्तु समेटिएको बताए । उनले भने, ‘यस कथा संग्रहमा वर्तमान पुस्तालाई रोचक र कौतुहलपूर्ण लाग्ने ग्रामीण क्षेत्रका लुप्त हुन लागेका चलन एवम् परम्परालाई पुर्नजीवन दिने प्रयत्न गरिनुका साथै सामाजिक विकृति र विसंगतीविरुद्ध रापिलो मुस्लो ओकल्ने प्रयत्न पनि गरिएको छ ।’



  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया