logo-img

दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गरेको छु : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आएको बताएका छन् । 

पूर्वन्यायाधीश फोरम नेपालको आठौँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कानुनी शासनको वर्तमान अवस्था विषयक कार्यक्रममा उनले कानुनको शासन मुलतः अनुभूति गर्ने विषय भएको विचार प्रकट गरे । 

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सबैमा कानुनी शासनको परिपालन गर्ने संस्कारको विकास हुनुपर्छ । अदालतले एउटै विषयमा पटक–पटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइन ।’

कानुनबमोजिम गर्नुपर्ने दायित्व पूरा नगर्ने सार्वजनिक व्यक्तिको खोजी गर्नुपर्ने दृष्टिकोण र विचार अभिव्यक्त हुने गरेको बताउँदै उनले कानुनको शासन प्रवर्द्धनका लागि न्यायाधीश र न्यायपालिका सधैँ गम्भीर र संवेदनशील रहिआएको उल्लेख गरे । 

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘अहिले सर्वोच्च अदालत र देशभरकै अदालतमा दाबीका साथ भन्न सकिन्छ कि केही छिटपुट घटनाबाहेक न्यायपालिकाप्रतिको दृष्टिकोणमा निकै सुधार भएको छ ।’

न्यायालयले गरेका काम जनतामा सही सम्प्रेषण नहुँदा ढिलो भयो भन्ने गुनासो देखिएको बताउँदै उनले विश्वमा प्रयोग भइरहेका प्रविधिको प्रयोगमा ढिलाइ भए अदालतपछि पर्छ भन्ने पाटोमा ध्यान पुर्याइरहेको उल्लेख गरे । 



छिटो, छरितो र न्यायमा सबैको पहुँच पुर्याउनका लागि बहस र पेसीमा नयाँ कार्यको सुरुआत गरिएको जानकारी दिँदै प्रधानन्यायाधीश श्रेष्ठले आमनागरिक र सेवाग्राहीको सेवासुविधालाई ध्यानमा राखी व्यावसायिक सुधारका प्रयास प्रशस्त भएको दाबी गरे । 

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय निरुपणमा संविधान र कानुनसँगै विवेक र ज्ञानको पनि त्यत्तिकै प्रयोग हुन आवश्यक रहेको बताए । 



पूर्वप्रधानन्यायाधीश रामकुमार साहले पछिल्ला वर्षमा कार्यपालिका र व्यवस्थापिकाप्रति निराशाका साथै न्यायपालिका पनि न्यायको मूल्यमान्यताको मूलधारबाट विचलित भएको हो कि भन्ने भान भएको प्रतिक्रिया दिए । 

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले फैसला कार्यान्वयनमा समस्या देखिएको, बजेट कम विनियोजन गरिएको तथा आवश्यक जनशक्तिसमेत नहुनुले राज्यले न्यायालयको मर्म र भावना बुझ्न नसकेको टिप्पणी गरे । 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतले स्वच्छ, स्वतन्त्र र निर्भिक रूपमा न्याय दिने सवालमा न्यायाधीश डराउने अवस्था आए जनता स्वयं डराउने परिस्थिति निर्माण हुने घटना सुनाउँदै पछिल्लो समय न्यायालय आफ्नो लयमा फर्केको बताए । 

आयोजक संस्था पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले जनताको आस्थाको धरोहरका रूपमा रहेको अदालतप्रतिको साख कामय राख्न न्यायाधीशले पनि सुझबुझपूर्ण निर्णय सुनाउनुपर्ने बताए । 

फोरमको महासचिव शम्भुबहादुर खड्काले कानुनी शासनको वर्तमान अवस्थाबारे विधायिका, कार्यपालिका र न्यायपालिकाको भूमिका विषयमा संस्थाको दृष्टिकोण प्रस्तुत गरे । 

त्यस अवसरमा संस्थाका आजीवन सदस्य एवं पूर्वन्यायाधीश स्वर्गीय रामहरि शर्माका स्मृतिमा उनकी धर्मपत्नी देवकुमारी फुँयाल र छोरा नरेश फुयाँलबाट पूर्वन्यायाधीश फोरम नेपाललाई एक लाख सहयोग पुर्याएबापत योगदानको कदर गर्दै संस्थाले उनहरूलाई सम्मानपत्र प्रदान गर्यो ।

  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया