logo-img

आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली
फाइल तस्बिर

कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा रहेको हाटखोली तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । 

बालबच्चासहित हाटखोली पुगेका धनगढी उपमहानगरपालिका–६ मटियारीका खेमराज पाठकले तराईको गर्मी छल्न परिवारसहित यहाँ आएको बताए । हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउन र यहाँको प्राकृतिक सुन्दरतासँग रमाउन उनीजस्तै धेरै मानिस यहाँ आउने गरेका छन् ।

‘हाटखोली आएर पौडी खेलेका तस्बिर फेसबुकमा थुप्रै हेरेको थिए । तस्बिरमा यहाँको प्राकृतिक सौन्दर्यता हेर्दा मोहित बनायो’, उनले भने, ‘यही पुगेर पौडी खेल्दा खुबै आनन्द आउँदो रहेछ । ठाउँ पनि रमणीय छ ।’   

गर्मी छल्नमात्र नभइ पिकनिक (वनभोज) खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन, मन्दिरमा दर्शन गर्न पनि मानिसहरू हाटखोलीमा पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी भीड हुने गरेको छ । 

चुरे गाउँपालिका–४ र गोदावरी नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको चुरे गाउँपालिका–४ का स्थानीय हेमराज विष्ट बताउँछन् । पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उनको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको विष्ट बताउँछन् । 

‘प्राचीनकालदेखि नै गोठालाले पुज्ने गरेको सो मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको जनाइएको छ । मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि पूर्वाधार विकास सकेका छैनन् । यसतर्फ सरकारको ध्यान जान जरुरी छ’, विष्टले भने ।   



स्थानीय प्रेम गुरुङले पर्यटकीय गतिविधि बढेपछि पछिल्लो समय होटल खुल्नेक्रम थपिएजस्तै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए । ‘पर्यटकीय गतिविधि त बढे, अब यसबाट लाभ लिने गरी पूर्वाधार विकास र व्यवस्थापनका काम गर्नुपर्छ । त्यसले आर्थिक क्रियाकलाप बढोत्तरीमा टेवा पुर्‍याउने छ’, गुरुङले भने ।  

सो क्षेत्रमा वनभोज स्थलको विकास, प्राकृतिक तालको संरक्षण, मठमन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको गोदावरी नगरपालिकाले जनाएको छ । हाटखोली क्षेत्रको मष्टाधामको पूर्वाधार विस्तारको काम भइरहेकाले अगामी वर्षमा जाजरी झरना, ग्वालादेउ मन्दिरको पूर्वाधार विकास र साइकल पदयात्रा विस्तारको काम गर्ने नगरपालिकाको योजना छ । 



हाटखोली पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करिब आठ किलोमिटरको दूरीमा उत्तरचुरे फेदीमा अवस्थित छ । रासस 

  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया