logo-img

संसदमा सत्तापक्ष-प्रतिपक्षबीच द्वन्द्व : भविष्यमा कसले चुकाउनु पर्ला मूल्य ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन् । उनले १७ महिनाको अवधिमा चारपटक विश्वासको मत लिएका हुन् । 

सभामुख देवराज घिमिरेले मत विभाजन गर्दा २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी थिए, जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्‍यो । यस्तै, विपक्षमा शून्य र दिन्न भन्ने अर्थात् तटस्थमा एक मत पर्‍यो । कांग्रेससहित विपक्षी सांसद भने मतदान प्रक्रियामा सहभागी नभई नाराबाजीमै रहे । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा फुट आएपछि त्यसको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूसँग बहुमत रहेको सिद्ध गर्न परेकाले प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए । एमाले सहितको सत्ता गठबन्धनमा रहेका दलहरूको मत प्रधानमन्त्रीले पाएका हुन् ।

दाहालले विश्वासको मत मागिरहँदा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वेल घेरेर नारा लगाइरहेको थियो । कांग्रेसको बैठक अवरुद्ध गर्ने रणनीतिलाई साथ दिइरहेका अरू प्रतिपक्षी दल उठेर समर्थन जनाइरहेका थिए ।

उच्च स्वरमा नाराबाजी भइरहेको सदनमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत माग्न समय दिएका थिए । उत्तेजित मुद्रामा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षको तीखो आलोचना गर्दै विश्वासको मत मागे । उनले आजको विरोधका लागि ‘भविष्यमा चर्को मूल्य चुकाउनुपर्नेछ’ भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी समेत दिए । 

नेपालको संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षको विरोधबीच प्रधानमन्त्रीले विश्वासको मत लिएको यो पहिलो अवसर हुन पुगेको छ । प्रतिपक्षले मतदानमा सहभागी नभएर विरोध गरेको पनि यो पहिलो घटना बनेको छ ।



अर्को उल्लेख्य पक्ष के हो भने विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले मतदाता सांसद र समर्थक दललाई धन्यवाद ज्ञापन गर्ने परम्परा रहिआएको छ । त्यसै गरी दलीय प्रतिनिधित्वका आधारमा रोष्ट्रममा उभिएर नेताहरूले प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिने चलन छ । तर, आज यी कुनै पनि औपचारिकता पूरा हुन पाएनन्, आफूलाई विश्वासको मत दिने दलहरूको समेत बधाई नपाई प्रधानमन्त्री सदनबाट बाहिरिनुपर्‍यो । 



उनलाई सत्ता साझेदार नेकपा एमालेका अध्यक्षले पनि भेटेरै बधाई दिइसकेका छन् । मत परिणाम घोषणा गरेपछि कार्यसूचीका सबै विषय हटाएर सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेको सूचना सुनाएपछि भर्खरै विश्वासको मत पाएका प्रधानमन्त्री दाहाल व्यक्तिगत शुभकामना लिँदै बाहिरिएका थिए । कांग्रेसले भने आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ ।  

  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया