logo-img

अध्यक्ष दाहालको आह्वान : राष्ट्रिय सभालाई समस्या समाधानको थलो बनाऔँ
फाइल तस्बिर

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्ष दाहालले गतिरोध अन्त्यका लागि राष्ट्रिय सभालाई माथिल्लो सभाका हैसियतले अभिभावकीय भूमिका खेल्ने अवस्था बनाउन लाग्नुपर्ने बताए ।

‘समस्या समाधानका लागि राष्ट्रिय सभालाई अभिभावकीय भूमिका खेल्ने गरी सल्लाह, सुझाव दिनेखालका गतिविधि आवश्यक छ । त्यसका लागि प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ’, अध्यक्ष दाहालले भने ।

उनले महत्वपूर्ण विधेयक, नीति तथा कार्यक्रममाथिको छलफल, बजेट प्रस्तुतिलगायत कार्यभार रहेकाले संसदका बैठक नियमित सञ्चालनका लागि आग्रह गरे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले आजको बैठक स्थगित गरे ।

राष्ट्रिय सभाको अर्को बैठक यही ८ जेठको अपरान्ह १ः१५ बजे बोलाइएको छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।  





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया