logo-img

इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकोप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । 

उनले इरानी राष्ट्रले यस दुःखद् घटनामा एक इमान्दार र मूल्यवान् सेवक गुमाएको बताए । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेको एक नेताले बताए । 
        
आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गरे । 
         
यसैबीच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ । उनले सेप्टेम्बर २०२१ देखि उपविदेशमन्त्रीका रूपमा काम गरेका छन् । समाचार संस्था अल जजिराका अनुसार कानी सन् २००७ देखि २०१३ सम्म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव रहेका थिए ।
        
इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय रायसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य सातजनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि गरेको छ । उक्त दुर्घटनाको इरानी राज्य मिडिया आइआरएनएले हेलिकोप्टरको भग्नावशेष देखाउँदै रेड क्रिसेन्टले ड्रोन फुटेज साझा गरेको थियो । 
        
देशको इस्लामिक रिभोलुसनरी गार्ससँग सम्बद्ध समाचार आउटलेट तस्निमले रायसीको अन्त्येष्टि भोलि ताब्रिजमा गरिने जानकारी दिएको छ । 

रायसी, विदेशमन्त्री अमिर–अब्दुल्लाहियान र उनको साथमा रहेको प्रतिनिधिमण्डल बोकेको हेलिकोप्टर आइतबार पूर्वी अजरबैजान प्रान्तको वर्जाकन र जोल्फा सहरको बीचमा रहेको डिज्मार जंगलमा दुर्घटनाग्रस्त भएको थियो । 
        
इरानी राष्ट्रपति अजरबैजानको भ्रमण सकेर फर्कंदै गर्दा खराब मौसमका कारण उनी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया