logo-img

मोहम्मद मोख्बर बने इरानको कार्यवाहक राष्ट्रपति

इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि मोख्बरलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो । 

उनी इरानको शिया धर्मतन्त्रमा अन्य राजनीतिक नेताको तुलनामा धेरै हदसम्म चर्चाबाट टाढा रहने व्यक्ति हुन् । रायसीको मृत्युपछि ६८ वर्षीय मोख्बर एक्कासि अगाडि आएका छन् । उनले इरानमा राष्ट्रपतीय निर्वाचन हुनुअघि करिब ५० दिन कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन् ।   

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आइतबार दुर्घटनामा परी रायसीको निधनमा जारी शोक सन्देशमा मोख्बरको नियुक्तिको घोषणा गरेका हुन् । हेलिकोप्टरको भग्नावशेष सोमबार इरानको उत्तरपश्चिमी क्षेत्रमा भेटिएको थियो । मोख्बरले सरकारमा प्रमुख पदमा बसेका छन् । 

विशेषगरी ‘बोनियाद’ वा परोपकारी संस्थामा उनको ठूलो भूमिका छ । यी संगठन इरानको १९७९ ईस्लामिक क्रान्ति पछि जफत गरिएका सम्पत्तिबाट चलेका हुन् । यसमा पहिले इरानको राजपरिवारको स्वामित्वमा रहेका सम्पत्ति पनि समावेश थिए । 

मोख्बरले स्वर्गीय सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खोमेनीसँग जोडिएको परोपकारी प्रतिष्ठानको जिम्मेवारी लिएका थिए । यो संगठनलाई ‘इमाम खोमेनीको आदेशको कार्यान्वयन’ (इआइकेओ) भनेर चिनिन्छ ।

इरानको आणविक कार्यक्रमको बारेमा चिन्ताको बीचमा युरोपेली संघ (इयू) ले पनि मोख्बर लगायत अन्यलाई छोटो समयका लागि प्रतिबन्ध लगाएको थियो ।  
मोख्बर २०२२ देखि इरानको ‘एक्सपेडिन्सी काउन्सिल’ को सदस्य पनि हुन् । यो निकायले सर्वोच्च नेतालाई सल्लाह दिन्छ, साथै संसद् र इरानको संवैधानिक अनुगमन निकाय ‘गार्जियन काउन्सिल’ बीचको विवाद समाधान गर्छ ।





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया