logo-img

दयाहाङ भन्छन्- ‘निर्देशक बन्ने सपना छ, तर अभिनयमै व्यस्त छु’

अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड जबसम्म स्वायत्त हुँदैन तबसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरूप विकास गर्न नसक्ने बताएका छन् । बोर्डलाई स्वायत्त बनाउने गरी छलफल भइरहे पनि राजनीतिक भागबन्डा हुँदा समस्या आउने गरेको उनले बताए ।

‘हाम्रोमा के परिपाटी भयो भने जुन मन्त्रालयहरू छन् त्यहाँ पार्टीको भागवन्डा हुनेगर्छ । बिच बिचमा सरकार पनि परिवर्तन भइरहन्छ । बोर्ड र मन्त्रालयबिच निरन्तर समन्वय हुने अवसर नै मिल्दैन । जसका कारण चलचित्र क्षेत्रको विकासमा पर्याप्त काम गर्ने मौका मिल्दैन । यसमा हामी सबै गम्भीर बन्नुपर्छ,’ कुराकानीमा राईले भने ।

अभिनेता राईले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा नेपाली फिल्महरूले सहभागिता जनाउँदा कस्तो फाइदा हुन्छ भन्ने कुरा नै सरकारी निकायले चासो नदिएको गुनासो गरे । ‘पहिलो कुरा त अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा जाँदा के हुन्छ, के उपलब्धि हुन्छ भन्ने कुराहरूको हामीलाई सामान्य ज्ञान पनि छैन । त्यो बुझ्ने प्रयास कतिको भइरहेको छ भन्ने कुरा पनि हामीले हेक्का राख्नुपर्छ,’ उनले भने ।

फिल्म किन र केका लागि बनाइन्छ भन्ने कुराको बुझाइमा कमी रहेको जनाउँदै राईले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको प्रवर्द्धन गर्नुपर्छ भन्ने स्पष्ट नीति सरकारले बनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अन्य देशहरूले आफ्नो स्टलहरू राखेर आफ्नो देशको प्रवर्द्धन गरिरहेको आफूले प्रशस्त देखेर आएको पनि सुनाए ।
हिजोआज दयाहाङ नयाँ फिल्मको सुटिङमा छैनन् । ‘यो गाउँको बाटो’को प्रमोशनमा र मण्डलाको व्यवस्थापनमा व्यस्त रहेको सुनाए । फुर्सदको समय स्क्रिप्टको पूर्व तयारीहरू गरिरहेको बताए ।

आफ्नो फिल्म ‘कबड्डी ४’ राम्रो प्रदर्शन भएर व्यावसायिक सफलता हासिल गरेको सुनाउँदै अभिनेता राईले गत सालका प्रदर्शनमा आएका आफ्ना नौ फिल्ममध्ये तीन वटा फिल्मले लगानी उठाउन नसकेको र बाँकी ६ वटाले लगानी सुरक्षित गरेको बताए । ‘यस वर्ष माहौल राम्रो छ । निकै धेरै फिल्महरूमा मैले काम गरिसकेको छु । अवस्था उत्साहजनक छ । व्यावसायिक रूपमा सफलता मिल्छ जस्तो लाग्छ । विदेशमा प्रदर्शन हुने गरेका नेपाली फिल्मले राम्रो कलेक्सन गरिरहेका छन् । धेरै फिल्मले राम्रोसँग लगानी सुरक्षित गर्न अवसर पाएका छन्,’ उनले भने ।

‘साम्बाला’, ‘गाउँ आएको बाटो’ जस्ता फिल्म विश्व बजारका मञ्चहरूमा जस्तो बर्लिन् फिल्म फेस्टिभलमा साम्बालाले मुख्य प्रतिस्पर्धामा सहभागी भएको, गाउँ आएको बाटो टोरोन्टो फिल्म फेस्टिभलमा अफिसियल छनोट भएको,  रेड सुट्केशले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनो हुने अवसर पाएकाले नेपाली फिल्महरू अन्तर्राष्ट्रिय जगतमा राम्रो उपस्थिति देखाइरहेको उनले बताए ।



विभिन्न प्रविधिहरूका कारण फिल्म हलमै पुगेर फिल्म हेर्नुपर्ने बाध्यता हिजोआज नरहेको उल्लेख गर्दै अभिनेता राईले मानिसहरूले जहाँ जुन अवस्थामा पनि फिल्म हेर्न सक्ने बताए ।
भविष्यमा फिल्ममा अभिनय मात्र गर्ने कि निर्देशक र निर्माताको भूमिका निर्वाह गर्ने भन्नेमा अहिले नै सोच्न नसकेको उनले सुनाए । ‘भविष्य कतातिर जान्छ अहिले थाहा हुँदैन । मेरो सपना निर्देशक बन्ने नै हो । कुनै समय फिल्म डाइरेक्सन गर्छु भन्ने थियो । तर निर्देशन गर्नु अथवा त्यो जिम्मेवारी लिनको लागि लामो अभ्यास, सोच पहिला आउनुपर्छ । अहिले चाहिँ म अभिनयलाई नै निरन्तर रूपमा अगाडि बढाउँछु,’ उनले आगामी योजनाबारे भने ।

‘दास ढुङ्गा’, ‘ताम्रो’ ‘लुट’ जस्ता फिल्मले आफूलाई स्थापित गराएको सुनाउँदै राईले ‘हाइवे’, ‘गाउँ आएको बाटो’ले आफूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग गरेको सुनाए । उनले नव आगन्तुक कलाकारहरूलाई चर्चित हुन नभई मेहनत गर्नका लागि कला क्षेत्रमा प्रवेश गर्न सुझाव दिए ।



‘आवश्यक तालिम, सीप, अध्ययन के के आवश्यक पर्छ त्यसमा मेहनत गर्नुपर्छ । पहिलो कुरा त उद्देश्य स्पष्ट बनाएर आउनुपर्छ । कलाकार भइसकेपछि चर्चित एकातिर होला तर काम र निरन्तरता एकातिर राख्नुपर्छ । कामलाई ध्यान दिने हो त्यो पनि सोच्नुपर्छ,’ उनले भने ।  

  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया