logo-img

क्यानभित्रको राजनीतिले कोपभाजनमा सन्दीप ?
फाइल तस्बिर

नेपाल क्रिकेट संघ (क्यान) यतिबेला विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एसिया कप, आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा पुर्‍याउन अहम् भूमिका खेलेका स्टार लेगस्पिनर अहिले क्यानभित्रको आन्तरिक राजनीतिका कारण कोपभाजनमा परेका छन् ।

जिल्ला अदालतमा मुद्दा चल्दा झण्डै एक सय दिन हिरासतमा बिताएका सन्दीपले उच्च अदालत र सर्वोच्च अदालतको आदेशबाट धरौटी बुझाएपछि विदेशसम्म गएर खेल्न पाएका थिए । यदि उनी त्यतिबेला नखेलेको भए सायदै नेपाल अहिले टी–२० विश्वकपमा हुने थियो होला ।

सन्दीपले जिल्ला अदालतबाट सजाय पाएकै हुन् । त्यसविरुद्ध उच्च अदालत पाटन पुनरावलोकनका लागि गएका उनले त्यहाँबाट सफाइ पाए पनि विश्वकप खेल्न/नखेल्ने अन्योल बढेको छ ।  अमेरिकी दूतावासले भिसा दिन इन्कार गरेपछि सन्दीपले आउँदो २ जुनदेखि सुरु हुने विश्वकप खेल्ने/नखेल्ने अन्योल बढेको हो ।

उच्च अदालतबाट सफाइ पाएलगत्तै समर्थकको क्यानप्रतिको सहानुभूति बटुल्न सन्दीपको निलम्बन फुकुवा गरेको नाटक मञ्चन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरे पनि उनको कार्यसमितिका केही व्यक्ति हावी हुँदा त्यसको सिकार सन्दीप नै भएका छन् । भिसा नदिने निकायको आवरणमा काठमाडौंमा रहेको अमेरिकन राजदूतावास भए पनि भित्री खेल क्यानकै पदाधिकारी र केही सदस्यको रहेको पक्का छ । 

क्यानले नै खेलाडीदेखि सबैको भिसाका लागि पहल गरेको थियो । यदि सच्चा मनका साथ क्यानले पहल गरेको भए सन्दीपले भिसा नपाएको खबर सुन्नु नै पर्ने थिएन । यसअघि पटकपटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी दिइएको थियो ।

सन्दीपको पहिला नै सन् २०२५ सम्मको अमेरिकी भिसा अवधि रहेको थियो । यदि क्यानको नेतृत्वको मनसाय गलत हुँदैनथ्यो भने उनले किन उच्च अदालतबाट सफाइ पाएपछि मात्रै भिसा रद्द भएको जानकारी पाए त ? खेलकुदप्रेमीले प्रश्न गर्ने ठाउँ छ ।



सन्दीप आरोपित भएर अदालतमा चक्कर काट्दै गर्दा पनि आइसिसी र एसिसीले उनलाई कुनै पनि प्रतिबन्ध नलगाएको अवस्थामा वर्तमान कार्यसमितिले जिल्ला अदालतको फैसलालाई टेकेर उनलाई निलम्बन गरेको थियो । निलम्बन स्वाभाविक मानिए पनि अमेरिकी दूतावासलाई सन्दीपको भिसा रद्द गराउनका लागि पत्र लेख्ने निर्णय क्यानको बोर्ड बैठकमा भएको थियो त ? यो पनि समर्थकले क्यानकै पदाधिकारीलाई सोध्नुपर्ने छ ।

उच्च अदालत पाटनबाट २ जेठमा उनले सफाइ पाएका थिए । ४ जेठमा उनलाई अमेरिकी राजदूतावासले विगतको भिसा रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबार मात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए । तर, अन्तर्वार्ताका लागि गए पनि उनी असफल भएपछि अन्तर्राष्ट्रिय एरेनामा सन्दीपको ‘लेगस्पिन’बाट विकेट लिएको देख्ने सम्भावना अत्यन्त न्यून रहेको छ ।



क्यानले सन्दीपको भिसा प्रक्रिया जति नै अगाडि बढाएका छौँ भने पनि टिमभित्रको आन्तरिक राजनीति पनि यतिबेला छरपस्ट भएको छ । नेपाली टिममा सन्दीप मात्रै खेलाडी छैनन् ।

अरू खेलाडीलाई अपमान गर्न खोजिएको पनि होइन । तर, विश्वकपमा सन्दीपको अभाव नेपाली क्रिकेट टिमलाई खड्किने पक्का छ । आसन्न टी–२० विश्वकप हेर्न पठाउने बहानामा क्यानका केही पदाधिकारीको सहमतिमा ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणलाई बिर्साउने गरी मानव तस्करी हुन लागेको समाचार सञ्चारमाध्यममा आइसकेका छन् । 

साथै, क्यानका केही पदाधिकारी र सदस्यका श्रीमती, भाइ र छोराछोरीको अमेरिकाको भिसा लागिसकेको अवस्थामा अदालतबाट सफाइ पाइसकेको विषय उठाएर सन्दीपलाई भिसा नदिनु नेपाली क्रिकेटमाथि गम्भीर अन्याय भइरहेको समर्थकको बुझाइ छ । 

  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया