logo-img

आरसिबी प्रतियोगिताबाट बाहिरियो, आरआर चार विकेटले विजयी

इन्डियन प्रिमियिर लिग आइपीएको एलिमिनेटर खेलमा राजस्थान रोयल्स  (आरआर)ले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसिबी)लाई ४ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले क्वालिफायर २ का लागि स्थान पक्का गर्न सफल हुँदा बेंग्लुरु भने प्रतियोगिताबाट बाहिर भएको छ । 

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले क्वालीफायर २ मा सनराइजर्स हैदरावादसँग खेल्ने छ । उक्त खेलमा विजयी हुने टिमले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।
बुधवार राति नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा आरसीबीले १ सय ७२ रन बनाएको थियो । 

विराट कोहलीले ३३ रन बनाए भने अन्तिम ओभरमा महिपाल लोमरले १७ बलमा ३२ रन बनाएर बैंगलोरलाई यो स्कोरमा पुर्याए । लक्ष्य पछ्याउने क्रममा राजस्थानको टोलीले स्थिर सुरुवात गरे पनि मध्य ओभरमा रनरेटको नबढ्दा दुवै टिमको समान अवस्था थियो । रायन पराग, शिमरोन हेटमायर र रोभम्यान पावेलको महत्वपूर्ण इनिङ्सले राजस्थान रोयल्सको रनरेटलाई गति दियो । 

१७३ रनको लक्ष्य पछ्याउँदा राजस्थान रोयल्सका ओपनरले ५ ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएका थिए । तर छैठौं ओभरमा टम कोहलर क्याडमोर १५ बलमा २० रन बनाएर आउट भए । स्वप्निल सिंहले एक ओभरमा १७ रन बनाए पनि त्यसपछि आरसीबीका बलरहरूले रनरेटलाई धेरै हदसम्म नियन्त्रणमा लिएका थिए । 

११ औं ओभरको पहिलो बलमा कर्ण शर्माले कप्तान सञ्जु सामसनलाई स्टम्पिङ गर्दै राजस्थानलाई ठूलो झटका दिए । सामसनले १३ बलमा १७ रन बनाए । १४ औं ओभरमा विराट कोहलीका कारण ध्रुव जुरेल रनआउट भए । १५ ओभरसम्म राजस्थानले ४ विकेट गुमाएर १२६ रन बनाएको थियो । जितका लागि ५ ओभरमा ४७ रन बनाउन बाँकी थियो । अर्को २ ओभरमा २८ रन बनेका कारण आरआरलाई ३ ओभरमा १९ रन मात्रै आवश्यक थियो ।

१८ औं ओभरको अन्तिम बलमा सिमरोन हेटमायर २६ रन बनाएर आउट भए । रोभम्यान पावेलले लोकी फर्गुसनको ओभरमा १४ रन बनाएर ६ बल बाँकी रहँदै ४ विकेटले राजस्थानले जित सुनिश्चित गरेको थियो । आरसीबीका मोहमद सिराजले २ विकेट लिए ।



पहिला ब्याटिङ गर्दा बेंग्लुरुका लागि रजत पटिदारले सर्वाधिक ३४ रन बनाउँदा कोहलीले ३३ रन जोडे । यसैगरी क्यामनर ग्रीनको ब्याटबाट २७ रन बन्दा कप्तान फाफ डु प्लेसिस १७ रनको पारि खेलेर विदा भए । दिनेश कार्तिकले ११ रन जोडे ।

राजस्थानका लागि आभेस खानले तीन तथा रविचन्द्र आश्विनले दुई विकेट लिए ।
 



  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया