logo-img

मधेश प्रदेशमा १० महिनामा १९ प्रतिशत मात्र बजेट खर्च

मधेश प्रदेशमा चालू आर्थिक वर्षको १० महिनामा १८ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ ।

मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव ८ प्रतिशत मात्र खर्च भएको जनाएको हो ।  

उक्त अवधिमा चालू खर्चतर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात ४ अर्ब ४६ करोड ७४ लाख ६८ हजार रुपैयाँ तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात ३ अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए । 

मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए । 
 
चालू आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालूतर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात् ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार  कूल बजेट रहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो ।  

आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेकाले यही अवस्थामा योपटक ५० प्रतिशतसमेत बजेट कार्यान्वयन हुन चुनौती रहेको जानकारको भनाइ छ । रासस 





  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया