logo-img

अमेरिकामा ह्युस्टन हरिकेन्ससँग अभ्यास म्याच खेल्दै नेपाल

आइसिसी टी–२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास म्याच खेल्दैछ । नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग अभ्यास म्याच खेल्न लागेको हो ।  

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार शुक्रबार राति ९ः४५ देखि सुरु हुनेछ । नेपाली टिम क्यारेबियन देश सेन्ट भिन्सेन्ट एन्ड ग्रेनान्डिसमा विनवार्ड्स भोलक्यानोजसँग तीन खेलको सिरिज खेलेपछि ह्युस्टनसँग प्रतिस्पर्धा गर्न लागेको हो । उक्त सिरिज नेपालले २–१ ले जितेको थियो । 

नेपाल ह्युस्टनविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपअघि लयमा रहन चाहन्छ । दुईवटा अभ्यास म्याच खेलेपछि नेपाली टिमले विश्वकपको वार्मअप खेल खेल्नेछ, जसअन्तर्गत नेपालले २७ मेमा क्यानडा तथा ३० मेमा अमेरिकाको सामना गर्नेछ । यी दुवै खेल नेपाली समयअनुसार राति ९ः१५ देखि सुरु हुने तालिका छ । 

वार्मअप खेलेपछि नेपालले विश्वकपमा सहभागिता जनाउनेछ । २ जुनदेखि सुरु हुने विश्वकपमा नेपाल ग्रुप स्टेजको पहिलो खेलमा ४ जुनमा नेदरल्याण्ड्सँग खेल्नेछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ९ः१५ देखि सुरु हुनेछ । नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलोपटक एकअर्काको सामना गर्नेछन् । 

यद्यपि यी दुई टोलीले १२ टी–२० आईमा एकअर्काको सामना गरिसकेका छन्, जसमा नेदरल्याण्ड्सले ६ र नेपालले ५ खेलमा जित निकालेको छ । यी दुई टोलीबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।   

नेदरल्याण्ड्सपछि नेपालले विश्वकपमा १२ जुनमा श्रीलंकासँग खेल्नेछ । त्यसपछि नेपालले १५ जुनमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । दक्षिण अफ्रिका पनि नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हो । आसन्न विश्वकपमा नेपालले समूह चरणको अन्तिम खेलमा १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । 



यी तीनवटै खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे राखिएको छ । यसपालिको विश्वकपमा नेपालले सुपर एटमा पुग्ने लक्ष्य लिएको छ ।  



  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया