logo-img

लुम्बिनीमा दर्शनार्थीको घुइँचो, व्यवस्थापन गर्न हम्मेहम्मे
फाइल तस्बिर

२५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न गुम्बा र मायादेवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । बिहीबार दिनभर सङ्ख्या कम रहे पनि साँझ ७ बजेपछि हजारौँको सङ्ख्यामा दर्शनार्थी आएपछि व्यवस्थापनमा कमी देखिएको छ ।

बिहीबार साँझ ७ बजेपछि भीड नियन्त्रण गर्न केही बेर मायादेवी मन्दिरको मूलद्वार नै बन्द गर्नु परेको थियो । दर्शनार्थीको भीड मूलद्वारदेखि बेबी बुद्धसम्म पुगेको थियो । पवित्र उद्यानमा पनि ठाउँ नभएपछि विकास कोषले भित्र रहेका दर्शनार्थी बाहिर गएपछि मात्र मूलद्वारसँगै पश्चिमी द्वार खोलेको थियो । 

भीडका कारण लुम्बिनी विकास कोषको ३ नम्बर प्रवेशद्वार र ४ नम्बर द्वारमा जाम लागेको थियो । कोष बाहिर पनि निर्माणाधीन पुलको कारण जाम लागेर दर्शनार्थीले सास्ती खेप्नुपरेको थियो । लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार बुद्ध पूर्णिमाको दिन मात्र ५० हजारभन्दा बढीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् । 

‘यो सङ्ख्या अझै बढ्ने सम्भावना थियो, तर भारतमा भएको लोक सभाको निर्वाचनको कारण भारतीय दर्शनार्थी धेरै आउन सक्नुभएन’, राईले भने, ‘अहिलेको चाप हेर्दा पनि भविष्यमा यसलाई व्यवस्थापन गर्ने गरी कोषले योजना बनाउन आवश्यक रहेको छ ।’ 

उनले पूर्णिणाको दिन दर्शनार्थीको घुइँचो देखेर उत्साहित बनाएको बताए । थोरै विदेशी पर्यटक रहे पनि ९५ प्रतिशत बढी अवलोकनकर्ता नेपाली नै रहेको राईले जानकारी दिए । 

परिवारसहित लुम्बिनीमा आएका भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले भीडका कारण पर्यटन व्यवसायीलाई खुसी बनाएको बताए । उनले भैरहवास्थित गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गरी अन्तरआबद्धता बढाउन सके यो क्षेत्रको पर्यटन सधैँ यस्तै गुल्जार हुनसक्ने बताए । 



गत वर्षसम्म मन्दिर परिसरमै दीप प्रज्ज्वलन गर्ने गरिएको थियो । तर, यस वर्षदेखि भने कोषले बगैँचाबाहिर शेड बनाई दियो बाल्ने व्यवस्थापन गरेको छ । मायादेवी मन्दिरलाई विद्युतीय बत्तीले सजाइएको थियो । यसले पनि पर्यटकलाई मोहित बनाएको थियो । गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको वैशाख पूर्णिममा त्रिसंयोगको रूपमा बुद्ध जयन्ती मनाउने गरिएको छ । रासस 



  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया