logo-img

सहकारी ठगीविरुद्ध आज कांग्रेसले विरोध प्रदर्शन गर्दै
फाइल तस्बिर


सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध प्रदर्शन गर्दैछ । संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो । 

पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् । उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाईमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । 

काठमाडौंको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् । 

प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो । 

सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयता संघीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ । 





  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया