logo-img

ह्युस्टनविरुद्ध नेपालको सानदार जित, करण र सोमपालको उत्कृष्ट बलिङ
फाइल तस्बिर

ह्युस्टन हरिकेन्ससँगको दुई खेलको टी–२० अभ्यास सिरिज नेपालले क्लिन स्विप गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ह्युस्टनलाई २७ रनले हराउँदै नेपालले सिरिज २–० ले क्लिन स्विप गरेको हो । पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।

नाम चलेका केही खेलाडी टिममा समावेश गर्दै नेपालविरुद्ध खेलेको ह्युस्टन दुवै खेलमा चुक्यो । दोस्रो टी–२० खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८.३ ओभरमा ९६ रनमै अलआउट भयो । उसका लागि जिआ शाहजादले २९ बलमा दुई छक्का र एक चौकासहित सर्वाधिक ३५ रन जोडे । यस्तै, इमरान खान जुनियर र लाहिरु मिलान्थाले १६/१६ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन ।  

ह्युस्टनलाई सस्तैमा समेट्र्नेक्रममा नेपाली अनुभवी तीव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामीले सानदार बलिङ गरे । करणले तीन ओभरमा १० मात्र रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।

उनी पहिलो खेलमा पनि लयमा देखिएका थिए । सो खेलमा करणले २ विकेट लिनुका साथै अवजित १० रन बनाए । यस्तै, पहिलो खेलमा दुई विकेट लिएका सोमपालले दोस्रो म्याचमा पनि ४ ओभरमा १७ रन खर्चेर २ विकेट नै हात पारे । त्यस्तै, कप्तान रोहितकुमार पौडेल, अविनाश बोहरा र सागर ढकालको नाममा एक/एक विकेट रह्यो । 

त्यसअघि अमेरिकाको ह्युस्टनस्थित प्रेरी भ्यू कम्प्लेक्समा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४० बलमा एक चौकासहित सर्वाधिक ३७ रनको इनिङ खेले । यस्तै, ओपनिङ ब्याटर कुशल भुर्तेलले ३१ बलमा दुई चौकासहित २३ रन बनाए । त्यस्तै, गुलशन झाले १४ रन जोड्दा सन्दीप जोरा र सोमपाल कामी १२–१२ रनमा अविजित रहे । यस्तै, आसिफ शेख एक, अनिलकुमार साह चार र कुशल मल्ल ६ आउट भए ।

ह्युस्टनका लागि इमरान शेख जुनियर, जिआ शाहजादले दुई/दुई, कोरी ड्राई र उस्मान शिनवारीले एक÷एक विकेट लिए । ह्युस्टनसँगको सिरिजमा नेपाललाई आफ्नो कमजोरी पत्ता लगाउने मौका मिल्यो । यस श्रृंखलामा नेपालले बलिङमा राम्रो गर्न सके पनि ब्याटिङमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन । विशेषगरी ओपनिङ ब्याटरले निराश बनाए ।



पहिलो रोजाइका ओपनर कुशलले पहिलोमा एक र दोस्रो खेलमा २३ रन जोडे । यस्तै, आसिफले पहिलोमा ४ र दोस्रो खेलमा एक रन मात्र बनाउन सके । उनीहरूको ब्याट नचल्नु नेपाललाई चिन्ताको विषय हो । 

दीपेन्द्र सिंह ऐरी चोटका कारण विश्राम गरिरहेकाले दुवै खेलमा ब्याटिङतर्फ नेपालले सानदार फिनिसिङ गर्न सकेन । उनी अहिले खुट्टाको एंकलको चोटका कारण विश्राम गरिरहेका छन् । दीपेन्द्र विश्वकप वार्मअप म्याचदेखि भने मैदान उत्रनेछन् ।



नेपालले यही २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग वार्मअप म्याच खेल्ने तालिका छ । विश्वकपमा नेपालले ४ जुनमा नेदरल्यान्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्नेछ । 
 

  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया