logo-img

शीर्ष नेताको कार्यशैलीप्रति कवि पराजुली दिक्क : भन्छन्- ‘अब देश बनाउने जिम्मा युवालाई दिनुपर्छ’

‘पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै ख्याल उही
जिब्रो बेग्लै र्‍याल उही
छाला बेग्लै स्याल उही
सत्र साल भाग दुई !’ 

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त  कविताका स्वर घन्काउनेमध्येमा पर्छन्, कवि अर्जुन पराजुली । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भुइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उनको यात्रा अहिले अविरल बगिरहेको छ ।

खराब प्रवृत्तिलाई आफ्ना शब्दका माध्यमबाट ताकेर प्रहार गर्ने उनको कलमले भ्रष्टाचार, कुशासन, विकृति र विसङ्गतिका पहाडलाई हल्लाइरहेको हुन्छ । जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सङ्कल्प बोकेर चुनावमा होमिएका र जितेर शासन सत्तामा पुगेकाहरूले वाचाअनुसार काम नगरेको वा गर्न नचाहेको देखेर होला कवि पराजुलीको कलम रोकिएको छैन । उस्तै परे दिनमा दुई/तीन वटासम्म व्यङ्ग कविताका हस्तलिखित तस्बिर उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएका छन् । ती रचनामाथि क्रिया–प्रतिक्रिया र चर्चाको क्रम चलिरहेको हुन्छ । 

समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीले ‘जनमत’ साहित्यिक मासिक पत्रिकामा २०६३ असोजमा लेखेका छन्, ‘कवि अर्जुन पराजुली जीवन भोगाइले घनीभूत भएर, अनुभूतिले परिपक्व भएर बनेका स्रष्टा हुन् । कुनै वाद वा सिद्धान्त पढेर, त्यसबाट प्रभावित भएर वा त्यसप्रतिको प्रतिबद्धता र अभिप्रेरणाले नभइ आफ्नै जीवन सङ्घर्षको सम्प्रेषणले बनेका कविका रूपमा उनलाई लिनुपर्छ । आर्थिकरूपमा विपन्न परिवारमा जन्मेका पराजुली अन्धविश्वास, अज्ञानता र कुरीतिहरूको आदर्श बोकेको पछौटे समाजमा जन्मी, कुटो कोदालो, घाँस, वन जङ्गल, दाउरा, मेलापातको ग्रामीण परिवेशमा, धार्मिक आडम्बर बोकेको आध्यात्मिक परिवेशमा, दुई छाक खानका निम्ति कल्पिनुपर्ने अवस्थामा बाल्यकाल बिताएर हुर्केका व्यक्ति हुन् । यिनै दुःख, दर्द, अभाव, अपमान र जीवन पीडाले उनलाई सानैदेखि भावुक, दयालु र मानवीय बनाएका हुन् ।’   

मुलुकले १७ औँ गणतन्त्र दिवस मनाइरहँदा मध्यवानेश्वरस्थित पाठशाला स्कुलको परिसरमा फूर्तिलोरूपमा संवाद गर्दै कवि पराजुलीले गणतन्त्र आउनु ठूलो परिवर्तन भए पनि त्यसअनुसार काम हुन नसकेकामा राजनीतिक दल र नेताहरूप्रति तीव्र असन्तुष्टि व्यक्त छाडेनन् । जनताका हितका पक्षमा काम नभएकाले जिम्मेवारी लिनेहरूले गर्न नसकेको भन्दै उनी जवाफ दिनेक्रममा आक्रामक देखिए ।   

कविता वाचन गर्दा औँला ठड्याएर ठूलो–ठूलो स्वर निकाले झैँ अन्तर्वार्ताका क्रममा पनि उनी उस्तै भावमा प्रस्तुत भए । उनको यो आफ्नै शैली पनि हो । उमेरले ६० पुगे पनि जोश, जाँगर र चेतनाले युवा देखिने पराजुलीले गणतन्त्र आउनुलाई सुकुम्बासीले जग्गा पाएको अवस्थासँग तुलना गर्दै घर बनाउन भने अझै बाँकी रहेको टिप्पणी गर्दै भने, ‘हामी हिजो सुकुम्बासी थियौँ । आन्दोलन गरेर घडेरी जोड्यौँ । टेक्ने जमिन पाइयो तर घर बनाउन सकिएन । घर बनाउने जिम्मा लिएकाहरूले बनाउन सकेनन् वा बनाउन चाहेनन् । हामी अझै घरबारविहीन छौँ ।’  



कुनै बेला सरकारी कर्मचारी रहेका पराजुली आफूभन्दा नराम्रा मान्छेको मुन्तिर बसेर काम गर्न नसकिने ठानेर र कर्मचारीतन्त्रभित्रका विकृतिबाट वाक्क भएर जागिरे जीवन छाडे । २०४६ सालको जनआन्दोलनमा पूर्णरूपमा नागरिक अभियान र साहित्यसँग जोडिएका पराजुलीको अनुभवमा ‘धेरै पटक प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेकाले मुलुक बनाउने जिम्मा अब युवा पुस्तालाई सुम्पिनुपर्छ । युवा पुस्ता र साँच्चिकै काम गर्ने इमानदार निःस्वार्थी र सक्षमलाई नेतृत्व सुम्पनुपर्छ ।’  

लामो दाह्री र पातलो अनि अग्लो शरीरको पहिचान बोकेका पराजुलीले छोटाछोटा, प्रश्नात्मक र बिम्बात्मक उत्तर दिने गर्छन् । सिस्नुपानी नेपालका संस्थापकसमेत रहेका पराजुली भन्छन्, ‘हाम्रो गाई बाँझो रहेको हामीले पत्ता लगाइसकेका छौँ, यो अब ब्याउन सक्दैन । फेरि यसलाई कतिपटक गोरु लगाउने ? यहाँ त ब्याउनसक्ने गाईहरूलाई थुनेर राखिएको छ, उनीहरूलाई छाडिदिनुपर्छ ।’



उनले नेताहरूलाई नै बढी प्रहार गरेर प्रायः कविता लेख्ने गर्नुहुन्छ :

        ‘जो खेती गर्दैन ऊ किसानको नेता !
        जो मजदुरी गर्दैन
        ऊ मजदुरको नेता !
        जो पढाउँदैन
        ऊ प्राध्यापकको नेता !
        जो पढ्दैन
        ऊ विद्यार्थीको नेता !
        जो सबैभन्दा बुढो छ
        ऊ युवाको नेता !’ 

तपाईं अलि धेरै नै आक्रोशित हुनुभएको हो भन्ने प्रश्न खस्न नपाउँदै पराजुलीले जवाफ फर्काए, ‘यो मेरो आक्रोस होइन, समाजको यथार्थ हो । मलाई त केही पद वा लाभ चाहिएको छैन । म कसैलाई केही भनसुन गर्न पनि जान्न । मैले तर आवाजविहीन जनताको आवाज मात्रै बोकेको हुँ । उनीहरूको दिमागमा चेतना भर्न मात्रै कलम चलाउने गरेको हुँ ।’ 

तपाईँका कतिपय कवितामा अलि बढी नै पूर्वाग्रह पाइन्छ नि भनेर सोध्दा उनले सजिलै उत्तर दिए, ‘एउटा भित्तोमा टाँसिएर हेर्दा पूर्वाग्रह लाग्न सक्छ । तर पूर्वाग्रह घुमिरहन्छ । कुनै कुरामा पूर्वाग्रह देख्नेले उसले विपक्ष देखेकालाई प्रहार गर्दा ठीक मान्न सक्छ । मैले त जो बदमासीको शिरमा छ उसलाई हान्ने हो । अर्काे कुरा पनि के हो भने अरु बेला विवाद र तमासा गरे पनि देशलाई लुट्न पल्किएकाहरू खाने र लुट्ने विषयमा एक हुन्छन् । त्यस्ता स्वार्थीहरूलाई म छाड्दिन । गरिब जनताका लागि मेरा कविताहरू औषधि बन्न सकून् भन्ने ठान्छु । त्यसैले मलाई वा मेरा रचनालाई टाढाबाट हेरेर बुझ्न सकिँदैन । नजिकै आएर छाम्नुपर्छ ।’

देशका नेताहरूले ‘सरकारमा तँ किन गएको, म जानुपथ्र्याे, मलाई छोड’ भन्ने कुरामा हानथाप गरेर जनताका लागि काम नगरे पनि देश बिगार्ने काम नगरिदिए हुन्थ्यो भन्ने सोचका कवि पराजुली राजनीतिक दल र नेताहरू सच्चिएर जनताका पक्षमा काम गर्नुको विकल्प देख्दैनन् । समाजको विकासमा अरूको पनि भूमिका हुन्छ । तर, राज्यले नै नेतृत्व लिनुपर्ने भएकाले अरूले गरेर पार नलाग्ने अनि सरकार इमानदार भएमा जनताले साथ दिने उनको भनाइ छ । बागमती सुधार अभियानका क्रममा वर्षाैँ काम भए पनि नदी शुद्ध नभएको उदाहरण दिँदै पराजुली मुहान नै शुद्ध हुनुपर्ने तर्क प्रस्तुत गर्छन् ।  

राजनीतिक दलका नेतृत्वकर्ताले सधैं आफूले नेतृत्व लिने र जनताका काम नगर्ने हो भने देश र गणतन्त्रको हालत झन् खराब हुने चिन्ताले पराजुलीको टाउको दुखिरहन्छ । उनलाई माइग्रेन्टको समस्या पनि छ । 

‘दलहरूभित्रका युवा र इमानदारहरू ढुङ्गाले थिचेको पहेँलो दुबो भएर रहेका छन् । ढुङ्गा हटाइदिने हो भने दुबोले हरियो भएर निस्कन पाउँथे,’ उनले भने । चित्त नबुझे साहित्य र पत्रकारिता क्षेत्रमाथि पनि प्रहार गर्न पछि नपर्ने पराजुली भन्छन्, ‘हिजो आन्दोलनमा नेतृत्व गरेको थिएँ भन्दैमा त्यसलाई उपदानका रूपमा खान पाउनुपर्छ भन्ने सोच्नु हुँदैन । युवाहरू देशमा दाल, भात खान नपाएर विदेशमा काम गर्न लाइन लागेर गइरहेका छन् । जनता भोकै बसेर हिजोका त्यागीका पूजा मात्रै गरेर बस्न सक्दैनन् । सानो उपलब्धि भए पनि खुसी हुने जनतालाई आधारभूत आवश्यकता पूरा गर्न हाम्रा नेताहरू सक्षम हुनुपर्छ ।’ 

स्वतन्त्र र सार्वभौम नेपाललाई विकसित हुन नदिने कुनै विदेशी तत्व भए पनि त्यसलाई नेताहरूले जनताको साथ लिएर चिरेर अघि बढ्न आग्रह गर्ने कवि पराजुली गणतन्त्रको लटरम्म फल लाग्ने बेला बालीमा असिना परेर सबै बाली नष्ट भए जस्तो आउन नहुनेमा सचेत छन् । उनले जनतामा चेतनाको शक्ति कायम रहनुपर्ने आह्वानसहित सटीक जवाफ दिए, ‘हामीले हाम्रो टाउकोलाई टाउको रहन दिनुपर्‍यो । दिमागलाई विकृतिको कन्टेनर बनाउनु भएन । जसले जे भने पनि पत्याउनु भएन । सत्य र गलत पहिचान गरेर देश बचाउन लाग्नुपर्‍यो ।’ रासस  

  • प्रकाशित मिति : जेठ १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया