logo-img

आइएसएमटी कलेजको बदमासी : सञ्चालन अनुमति नै नपाएको एमबीए कार्यक्रममा विद्यार्थी भर्ना [भिडियोसहित]

काठमाडौंको तीनकुनेस्थित इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजले सञ्चालन स्वीकृति नै नपाएको मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) कार्यक्रममा धमाधम विद्यार्थी भर्ना गर्न थालेको तथ्य फेला परेको छ । बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएको आइएसएमटी कलेज काठमाडौंले स्नातकोत्तर तहको एमबीए कार्यक्रम सञ्चालन गर्ने अनुमति नपाए पनि धमाधम भर्ना लिएको पाइएको हो । 

विदेशी सम्बन्धन प्राप्त कलेजले कुनै पनि विषयको अध्यापन गराउन वा विषय थप गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । तर, शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आइएसएमटी काठमाडौंले एमबीए कार्यक्रम सञ्चालनका लागि मन्त्रालयबाट स्वीकृति पाएको देखिँदैन ।

‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९’ को परिच्छेद ७ को दफा ६ अनुसार अनुमति प्राप्त विषय र तहभन्दा अन्य विषय वा तह वा शाखा थप गर्नु परेमा पुनः उक्त तह/विषय सञ्चालन गर्न वा शाखा थप गर्न शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्नुपर्ने उल्लेख छ । तर, कलेजले मन्त्रालयबाट स्वीकृति नै नलिई मे/जुनमा इन्टेकको लागि भन्दै अहिले धमाधम विद्यार्थी भर्ना गरिरहेको छ ।

८ चैत २०८० मा शिक्षा मन्त्रालयले सार्वजनिक गरेको विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजको विवरणमा आइएसएमटी काठमाडौंले ६ वटा कार्यक्रम सञ्चालन गर्न अनुमति लिएको देखिन्छ । कलेजले स्वीकृति लिएका कार्यक्रमको विवरण सूचीमा बिएससी (हन्स) कम्प्युटर सिस्टम इन्जिनियरिङ, बिए (हन्स) बिजनेश म्यानेजमेन्ट (बिबिए), बिएससी (हन्स) इन्टरनेशनल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट (एमएचएम), बिएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक, एचएनडी इन कम्प्युटिङ एन्ड सिस्टम डेभ्लोमेन्ट र एचएनडी इन हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गर्नको लागि अनुमति लिएको छ । तर, त्यहाँ एमबीए कार्यक्रम सञ्चालनका लागि स्वीकृति लिएको उल्लेख छैन ।

मन्त्रालयले सार्वजनिक गरेको उक्त विवरणमा आइएसएमटी चितवन र आइएसएमटी विराटनगरले मात्र एमबीए कार्यक्रम सञ्चालनको लागि मन्त्रालयबाट स्वीकृति लिएको देखिन्छ । आइएसएमटीका नाममा पाँचवटा कलेज सञ्चालित छन् । एउटै कलेजले शाखा विस्तार गर्न नपाउने भएपछि कलेज सञ्चालकले पाँचवटै स्थानका लागि एउटै नाम राखेर छुट्टाछुटै सञ्चालन अनुमति लिएको देखिएको छ । 



कानुनमाथि नै बठ्याइँ गरेर शाखा विस्तार गरे पनि कलेजले सबै शाखालाई समेट्ने गरी एउटै वेबसाइट निर्माण गरेको छ । जसकारण वेबसाइट हेर्ने जो कोही व्यक्तिले कलेजका कुन शाखाले कुन–कुन कार्यक्रम सञ्चालनको अनुमति लिइएको वा सञ्चालन गरिएको छ भनेर पत्ता लगाउन सक्दैनन् । आइएसएमटी काठमाडौंले एमबीए कोर्स सञ्चालन गरिरहेको छ भन्ने बलियो प्रमाण कलेजको फेसबुक पेज पनि एक हो । ‘आइएसएमटी कलेज’ नाम रहेको उक्त फेसबुक पेज आइएसएमटी काठमाडौंको हो । जहाँ अध्यापन हुने अन्य कार्यक्रमसँगै एमबीए पनि राखिएको छ ।​



त्यस्तै, एमबीए कार्यक्रमबारे बुझ्न कलेज पुग्ने जो कोही विद्यार्थीले एमबीए कोर्सबारे सहजै जानकारी र भर्ना पाउँछन् । हामी पनि विद्यार्थी बनेर कलेजमा एमबीए कार्यक्रमबारे बुझ्न पुगेका थियौँ । हामी कलेज पुग्दा एमबीएमा भर्ना गराउन र काउन्सिलिङ गर्न कर्मचारी तयारी अवस्थामा बसेका थिए । त्यस्तै, आइएसएमटी काठमाडौंले आफ्नो वेबसाइटमा पनि एमबीए कार्यक्रमबारे पूर्ण जानकारी राखेको छ । जुन कार्यक्रम सञ्चालनको लागि कलेजले मन्त्रालयबाट स्वीकृति नै लिएको छैन ।

कलेजको वेबसाइटमा राखिएको नम्बरमा फोन गर्दा पनि कलेजले एमबीए भर्नाबारे सहजै जानकारी दिने गरेको छ । भर्ना, शैक्षिक शुल्कलगायत विषयमा प्राप्त जानकारीको रेकर्ड फरकधारसँग सुरक्षित छ । जहाँ कलेजमा एमबीएको पढाइ हुने र भर्ना सुरु भइसकेको भनिएको छ । कलेजले मे र जुनमा इन्टेकको लागि भर्ना खुला भएको जानकारी दिएको छ ।

त्यस्तै, कलेजले काठमाडौंको वेबसाइटमा एमबीएको विज्ञापनसमेत गरिरहेको छ । कलेजले केही बठ्याइँ गर्दै विज्ञापनको लोकेसन भने एमबीए कार्यक्रम सञ्चालनको अनुमति प्राप्त गरेका आइएसएमटी चितवन र विराटनगर राखेको छ ।  

शिक्षा मन्त्रालयले आइएसएमटी नामका पाँच वटा कलेजलाई एउटै हुन् भनेर चिन्दैन भने यो कलेजले स्वीकृति अनुमति नै नपाएको कार्यक्रमको विज्ञापन गर्न कसरी पाउँछ ?

आइएसएमटीले एमबीए कार्यक्रम सञ्चालनको अनुमति लिएका कलेजलाई देखाएर काठमाडौंमा पनि उक्त कार्यक्रम सञ्चालन गर्न खोजेको प्रष्ट बुझ्न सकिन्छ ।

‘आइएसएमटी काठमाडौंले एमबीएमा भर्ना लिन पाउँदैन’  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइएसएमटी काठमाडौंले एमबीएमा भर्ना लिन नपाउने जनाएको छ । शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव डा. कमलप्रसाद पोखरेलले आइएसएमटी काठमाडौंले एमबीए कार्यक्रम सञ्चालनको लागि अनुमति प्राप्त नगरेकाले भर्ना लिन नपाउने बताए ।

उनका अनुसार आइएसएमटी चितवन र आइएसएमटी विराटनगरले एमबीए कार्यक्रम सञ्चालनको लागि अनुमति लिएका छन् भने अन्य शाखाले अनुमति प्राप्त गरेका छैनन् । आइएसएमटी काठमाडौंले अनुमति नै नलिएकाले उक्त कार्यक्रममा विद्यार्थी भर्ना लिन र पढाउन पाउने त कुरै भएन ।

अनुमति नै नपाएको एमबीए कार्यक्रमको शुल्क ६ लाख   

विदेशी विश्वविद्यालयको नियमअनुसार सञ्चालन भएको दावी गर्दै कलेजले विद्यार्थी र अभिभावकसँग लुटधन्दा चलाइरहेका छन् । यसरी लुटधन्दा चलाउनेमा आइएसएमटी कलेज पनि पछाडि छैन । कलेजले एमबीएमा भर्ना हुन मात्रै ८० हजार रुपैयाँ तोकेको छ । जुन विद्यार्थीमाथि गरिएको लुट नै हो ।

आइएसएमटी काठमाडौंले दुई बर्से एमबीए कार्यक्रम अध्ययन गर्न ६ लाख १ हजार रुपैयाँ लाग्ने जनाएको छ । कलेजले बनाएको शुल्क संरचनामा एमबीएको अध्ययन पूरा गर्न कलेजलाई विद्यार्थीले ५ लाख ९८ हजार रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ । 

त्यस्तै, शिक्षा मन्त्रालयलाई वार्षिक १ हजार ५ सय रुपैयाँका दरले बुझाउनुपर्ने दुई वर्षको तीन हजार रुपैयाँ पनि विद्यार्थीले नै तिर्नुपर्ने उक्त शुल्क संरचनामा उल्लेख छ । यस्तै, एमबीएको अध्ययन पूरा गर्न चारवटा सेमेस्टर अध्ययन गर्नुपर्ने र प्रत्येक सेमेस्टरको शुल्क ७५ हजार रुपैयाँ लाग्ने बताइएको छ ।

सबै समेमेस्टरको शुल्क सेमेस्टर सुरु हुनुभन्दा पहिला नै बुझाइ सक्नुपर्ने पनि प्रष्ट भनिएको छ  । त्यस्तै कलेजले रजिस्ट्रेसन, परीक्षा र अन्य शुल्क भन्दै वार्षिक १ लाख ९ हजार रुपैयाँका दरले दुई वर्षमा २ लाख १८ हजार रुपैयाँ लाग्ने जनाएको छ । विदेशी सम्बन्धन प्राप्त कलेजमा भएका विकृतिमा शिक्षा मन्त्रालयले आँखा चिम्लिँदा यो क्षेत्रमा मनोमानी बढ्दै गएको छ ।

यस्ता कलेजले लिने शुल्क, परीक्षा र भर्ना पारदर्शी नभएको कुरा बारम्बार उठ्ने गर्छ । तर, नियामक निकाय नै कानमा तेल हालेर बस्दा कलेज सञ्चालकको मनोमानी झनै बढ्दै गएको छ । जसकारण विद्यार्थीले विदेशी डिग्री प्राप्त गर्ने नाममा चर्काे मूल्य चुकाउनु परिरहेको छ । देशभरका शैक्षिक संस्थाको निगरानी गर्ने अधिकार प्राप्त शिक्षा मन्त्रालयले विदेशी सम्बन्धन प्राप्त कलेजले लिने शैक्षिक शुल्क, भर्ना शुल्क र परीक्षामा नियमन गर्न जरुरी छ ।

आइएसएमटी कलेजको पुरानै विवादित छवि

आइएसएमटी कलेज यसअघि पनि विवादमा आइसकेको कलेज हो । सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिनुभन्दा अगाडि यो कलेजले  युनिभर्भिटी अफ हर्टफोर्डसायरबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई भ्रममा राखेर अध्यापन सुरु गराएको तथ्य फरकधारले नै बाहिर ल्याएको थियो । फरकधारले उक्त तथ्य बाहिर ल्याएपछि विद्यार्थीले कलेजसँग हार्टफोर्डसायरको सम्बन्धन पत्र मागेका थिए । उक्त समयमा कलेज प्रशासनले विद्यार्थीलाई सम्बन्धन पत्र दिन नसकेको समाचार पनि फरकधारमै प्रकाशित भएको छ ।

सम्पर्कमा आउन चाहेन कलेज

आइएसएमटी काठमाडौंले सञ्चालन अनुमति प्राप्त नगरेको एमबीए कार्यक्रम सञ्चालन गरिरहेको तथ्य फेला पारेपछि त्यसको विषयमा बुझ्न फरकधारले कलेजका प्रिन्सिपल ध्रुवबहादुर जोशीसँग सम्पर्क गर्न खोज्यो । कलेजको वेबसाइटमा राखिएको फोन नम्बरमा कल गरेर प्रिन्सिपल जोशीको मोबाइल नम्बर माग्दा दिन नमिल्ने जानकारी आयो । जसको रेकर्ड पनि हामीसँग सुरक्षित नै छ । ‘फोन गर्न लगाइदिन्छु’ भन्दै कलेजका कर्मचारीले हाम्रो नम्बर लिए पनि यो समाचार लेख्दासम्म कलेजबाट प्रिन्सिपलले सम्पर्क गरेनन् ।

‘आइप्यान नियामक निकाय होइन’ 

विदेशी सम्बन्धन प्राप्त कलेजमा देखिएका विकृतिमाथि नियमन गर्ने अधिकार आइप्यानलाई नभएकाले सुझाव दिनेबाहेक अन्य कारबाही गर्न सक्ने अवस्था नरहेको अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान) का संस्थापक अध्यक्ष पंकज जलानले बताए । विदेशी सम्बन्धन प्राप्त कलेज विकृति रहित बनून्, गुणस्तरीय शिक्षा प्रदान गरून् भन्ने अपेक्षा आइप्यानको रहे पनि त्यसमा हस्तक्षेप गर्ने अधिकार नरहेको उनको भनाइ छ ।

नियामक निकाय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइप्यानसँग आबद्ध कुनै कलेजको बदमासी पत्ता लगाएर कारबाही गरेको खण्डमा उक्त कलेजलाई सदस्यताबाट हटाउनेसम्म अधिकार आइप्यानलाई रहेको अध्यक्ष जलानले बताए । ‘आइप्यानले शिक्षा मन्त्रालयलगायत निकायसँग समन्वय र सहकार्य गर्छ । तर, आफैँ कारबाही नै गर्ने अधिकार भने राख्दैन,’ उनले भने ।

आइप्यानले विदेशी सम्बन्धन प्राप्त कलेजको गुणस्तरसम्बन्धी अनुगमन गर्न समिति गठन गरेको र उक्त समितिले चाँडै काम थाल्ने जलानको भनाइ छ । उनका अनुसार उक्त समितिले दिएको प्रतिवेदनका आधारमा कुनै कलेजमा समस्या देखिएको खण्डमा आइप्यानले सुझाव दिनेसम्मको अधिकार राख्छ ।

यो पनि :

 शिक्षाको नाममा व्यापारः आइएसएमटीका विराटनगर, पाेखरा र चितवनका कलेज गैरकानुनी

आइएसएमटी कलेजमा विद्यार्थीले मागे हर्टफोर्डसायरको सम्बन्धन पत्र, प्रशासनले दिन सकेन

आइएसएमटीका पोखरा र चितवन शाखालाई शिक्षा मन्त्रालयले नै दिएको छैन स्वीकृति

विद्यार्थीलाई अन्योल र भ्रममा राख्दै, गलत सूचना दिएर शिक्षाको व्यापार गर्दैछ आइएसएमटी कलेज

  • प्रकाशित मिति : जेठ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया