संघीय संसदअन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्दै छन् । सिंहदरबारभित्र समितिका आ–आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको चारवटा प्रतिनिधि सभाअन्तर्गत समिति र दुईवटा राष्ट्रियसभाअन्तर्गतका समिति बैठकमा विभिन्न विषयमा छलफल हुँदै छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा १६औँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
सोही बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । यस्तै, बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि आव्हान गरिएको छ ।
बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने तयारी समितिको छ । सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । तर, बैठकको कार्यसूची भने सचिवालयले सार्वजनिक गरेको छैन ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजेका लागि डाकिएको छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितको क्षतिपूर्ति सम्बन्धमा समितिमा छलफल गर्ने तयारी छ । यस्तै, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्ने छ ।
बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।