logo-img

भारतमा गर्मीका कारण ३१ जनाको मृत्यु, धेरै सहरमा ४५ डिग्रीभन्दा माथि तापक्रम

भारतमा अत्यधिक गर्मीका कारण ३१ जनाको मृत्यु भएको छ । जसमध्ये १४ जना पूर्वी राज्य उडिसाका हुन् । राउरकेला सरकारी अस्पताल (आरजिएच) मा १० र सुन्दरगढ जिल्ला मुख्यालय अस्पतालमा चार जनाको मृत्यु भएको थियो ।

‘आरजिएच पुग्दासम्म आठ जनाको मृत्यु भइसकेको थियो, बाँकीको त्यहाँ उपचारका क्रममा मृत्यु भयो । आरजिएचका अधिकारीहरूले शव परीक्षणपछि मृत्युको वास्तविक कारण आज पत्ता लगाउने छन्,’ एआइआरले भनेको छ ।

उडिसाले तीव्र गर्मीको लहर अनुभव गरिरहेको छ । राज्यका प्रमुख भागहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । झारसुगुडा राज्यको सबैभन्दा तातो ठाउँ थियो । बिहीबार त्यहाँ अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस रहेको प्रतिवेदनले देखाएको छ ।

अधिकारीहरूले सर्वसाधारणलाई गर्मीसम्बन्धी रोगहरूको उपचारका लागि अस्पतालहरूमा भर्ना गरिएको बताएका छन् । भारतको मौसम विभागले सर्वसाधारणलाई गर्मीको जोखिमबाट बच्न, चिसो ठाउँमा बस्न र पर्याप्त पानी पिएर हाइड्रेटेड रहन सुझाव दिएको सिन्ह्वाले जनाएको छ ।

त्यसैगरी बिहारको औरङ्गाबाद जिल्लाको एक अस्पतालमा गर्मीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यसअघि १२ जना पुगेको बिहारको औरङ्गाबादमा तातो लहरका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म १७ जना पुगेको छ ।

‘अस्पतालमा भर्ना भएका पाँच जनाको मृत्यु भएको छ, शव परीक्षणको रिपोर्ट आएपछि यकिन थाहा हुनेछ’, औरङ्गाबादका जिल्ला मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गर्मीका कारण ज्यान गुमाउनेको घटनाबारे जानकारी दिँदै भने, ‘हामीले तातो स्ट्रोकका बिरामीको व्यवस्था गरेका छौँ । बिरामीलाई राम्रो व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन लागिरहेको छ । हामी निःशुल्क ओआरएस (जीवनजल) वितरण गर्दैछौँ ।’



राज्यका अन्य जिल्लाजस्तै औरङ्गाबाद सहर पनि रेकर्ड तोड तापक्रमका साथ अभूतपूर्व गर्मीको लहरसँग लडिरहेको छ । उत्तरपश्चिम र मध्य भारतका केही भागमा चरम तापक्रम जारी रहँदा गर्मीको लहरले मानिसहरूको दैनिक जीवनमा बाधा पुर्‍याइरहेको छ ।

बिहारमा तापक्रम ४४ डिग्री सेल्सियसभन्दा बढी छ ।  बिहारमा लोकसभा चुनावका सबै सात चरणमा मतदान भइरहेको छ । अन्तिम चरण शनिबार तय गरिएको छ । 



  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया