logo-img

राष्ट्रिय सभाको जेठ महिनाको सम्भावित कार्यतालिका तयार

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका तय गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले जेठ महिनाको सम्भावित कार्यतालिका, कुन–कुन बार शून्य समय हुने जस्ता विषयमा कार्यतालिका तय गरेको हो ।

कार्यतालिकाअनुसार यही जेठमा सम्भावित ६ दिन बैठक बस्ने तय गरेको छ । १५ जेठमा दुवै सभाको संयुक्त बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने, राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने रहेको छ । जुन कार्य सम्पन्न भइसकेको छ ।

यही जेठ २० गते राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल प्रारम्भ गर्ने, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ प्रस्तुत गर्ने, मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने र सुरक्षित कारोबार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने रहेको छ ।

२१ गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी गर्ने र राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नहरूको अर्थमन्त्रीबाट जवाफ प्रस्तुत गर्ने कार्यतालिका तय गरेको छ । सम्भावित कार्यतालिका अनुसार २८ जेठमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने र मिडिया काउन्सिल विधेयक, २०८० लाई दफाबार छलफलका लागि समितिमा पठाइने कार्यसूची छ ।

त्यस्तै, जेठ २९ गते संवैधानिक निकायका प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यसमा राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आव २०७९/८० र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन रहेको छ । सोही दिन सुरक्षित कारोबार विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ । 

बैठकले मङ्गलबार, बुधबार र बिहीबार बस्ने बैठकमा शून्य समय हुने, नीति तथा कार्यक्रम, बजेट, मन्त्रीको वक्तव्य, संसदीय प्रस्ताव जस्ता विषयमाथि छलफल हुने दिन सामान्यतः विशेष समय नरहने तय गरेको छ । प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार प्रादेशिक सरोकार समय हुन सक्ने, नयाँ विधेयक दर्ता हुन आएमा र समितिबाट विधेयकसम्बन्धी प्रतिवेदन प्राप्त भएमा वा सदस्यबाट कुनै प्रस्ताव दर्ता भएमा कार्य तालिकामा थप समावेश हुन सक्ने निर्णय गरेको छ ।



सार्वजनिक महत्वको विषयका लागि मन्त्रीबाट समय माग भएमा सामान्यतः बैठकको प्रारम्भको समय उपलब्ध गराइने, आकस्मिक रूपमा कुनै अत्यावश्यक विषयमाथि छलफल/विचार गर्नुपर्ने भएमा आवश्यकताको आधारमा कार्यतालिका परिमार्जन हुन सक्ने उल्लेख छ । प्रत्येक महिनाको तेस्रो हप्ताको कुनै बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने तय गरेको छ ।   

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारीरूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका थिए । 



  • प्रकाशित मिति : जेठ १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया