logo-img

बालेनप्रति खनिए ओली : अर्काको ढोकामा फोहोर फ्याँक्ने यो कुनै सभ्यता हो ?

एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति खनिएका छन् । बालेनको व्यवहार असभ्य देखिएको टिप्पणी गर्दै उनले त्यसमा कोही बोल्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । 

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालमा रमाउने युवापुस्ताले सही गलत निक्र्योल गरेर निर्धक्क भन्न नसकिरहेको जिकिर गरे ।

उनले भने, ‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ? गलत गर्यौ भनेर कसैले भन्न सक्दैन । के हालत होला ? यो गलत हो ।’ यस्ता क्रियाकलाप स्वतन्त्र र सभ्य समाजको लागि हुन नसक्ने ओलीको भनाइ छ । 

उनले थपे, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन ? उनीहरुको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्याबात् लेख्छ । अनि अरु चुप लागेर बस्छन् झोक्राएर । यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन ! यो एउटा महत्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ?’

सडक निर्माणका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएको थियो । उक्त घटनापछि मेयर शाह र एमाले नेता उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको सम्बन्ध चिसिएको छ । 

सोही घटनालाई ओलीले आपत्ति जनाएका हुन् । उनले युवा संघका नेता कार्यकर्तालाई नेतृत्व र पदका छनोटको लागि अप्ठेरो पर्यो भने आपसमा विवाद नगरी पार्टीमा सोध्न आउन आग्रह गरे ।



सर्वोच्च अदालतले पूर्णपाठमार्फत गिरिबन्धु टी इस्टेटको जग्गामा भएको हिनामिनाबारे प्रकाश पारेको थियो । त्यसको केही दिनपछि मेयर बालेनले उक्त प्रक।णमा मुछिएकालाई कारबाही गर्न माग गर्दै फेसबुक स्टाटस लेखेका थिए । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतले पनि सो प्रकरणमा एमाले अध्यक्ष ओलीको संलग्नता रहेको भनेर आरोप लगाइरहेका छन् । कांग्रेसले सो मुद्दालाई संसदमा उठाउने तयारी गरिसकेको छ । 



 

  • प्रकाशित मिति : जेठ १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया