logo-img

गृहमन्त्रीले हुँदै नभएको विषयमा अभिव्यक्ति दिए, त्यसको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गगन थापा

कांग्रेस महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन पनि आग्रह गरेका छन् । 

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा महामन्त्री थापाले विशेष समयमा बोल्दै सहकारी ठगी प्रकरण मोड्नलाई गृहमन्त्री रवि लामिछानेले हुँदै नभएको विषयमा अभिव्यक्ति दिएको बताए । 

उनले सहकारी बचत अपलचलनमा आफूमाथि उठेको प्रश्न छल्नलाई ‘संसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने गैर जिम्मेवार आरोप लगाएको भन्दै त्यसको सत्यता पुष्टि गर्नुपर्ने बताए ।

साथै उनले गृहमन्त्रीले सोबारे जवाफ नदिए प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा जोड दिँदै भने, ‘सदन चटक देखाउने ठाउँ होइन । पोस्ट ट्रुथ पोलिटिक्सको जुन खालको क्यारेक्टर हुन्छ त्यो अहिलेसम्म सदनमा आएको थिएन । यो पटक सदनमा छिर्याउने कोसिस गरियो । विषयवस्तुबाट बरालिएर अर्कोतिर लैजानको लागि सदनको मन्त्रीले गरेको कार्य डरलाग्दो छ । पछि पनि हुनसक्छ ।’

उनले थपे,‘सदनमा एउटा विषयवस्तु आउँदै गर्दा प्रश्नबाट बच्न सरकारका प्रधानमन्त्री र मन्त्रीले सबै यसै गर्न थाले भने सदन कहाँ पुग्छ ? कांग्रेस यो कुरामा प्रष्ट हुन चाहन्छ । सदनमा जुन कुरा भनियो, जुन कुरा सुनियो कि प्रधानमन्त्रीले अन गर्नुस् तपाईँसँगै हिसाबकिताब गरौँला । होइन भने प्रधानमन्त्रीले त्यो कुरालाई रेकर्डबाट हटाउँछु भन्नुपर्छ । होइन भने यही सदनमा प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ ।’

सहकारी ठगी प्रकरणमा समितिको काम नगर्दासम्म आफूहरूले कांग्रेसका सांसदलाई सदनमा नबोल्न आग्रह गरेको बताएका थापाले सहकारी प्रकरणमा एमालेको स्ट्याण्ड र सरकारको काम कांग्रेसले केही समय चुपचाप हेर्नेमा जोड दिए । उनले कांग्रेसले सदन अवरोध गरेका दिनको आफूहरू सरकारका काममा सघाएर क्षतिपूर्ति दिन तयार रहेको पनि जिकिर गरे ।  





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया