logo-img

विदेश पढ्न जाने विद्यार्थी र अभिभावकले बुझ्नैपर्ने कुरा

उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न देशमा जाने परम्परा पुरानै हो । हाम्रा पूर्वअग्रज व्यक्तित्व, अझ भनौँ उच्च घराना (राजा, महाराजा र धनीमानी)का सन्तानले विदेशबाटै उच्च शिक्षा लिने प्रचलन नयाँ होइन । नेपालमा उच्च शिक्षालयहरू स्थापना नभइसकेकाले पनि उनीहरू अध्ययनका लागि विदेश जाने गर्थे । त्यसबेला शिक्षा र प्रविधिमा केही सीमित व्यक्तिको पहुँच भएकाले पनि उच्च शिक्षाका लागि विदेश जानेको संख्या निकै न्यून हुन्थ्यो ।

तर, अहिले अवस्था र व्यवस्था दुवै परिवर्तन भएका छन् । अहिले देशभरका अधिकांश नागरिकको पहुँचमा शिक्षा र प्रविधि पुगेको छ । मोबाइल र इन्टरनेटको सहायताले विश्वको कुन देशमा के भइरहेको छ, त्यहाँको शैक्षिक अवस्था, रोजगारी, राजनीति र आर्थिक अवस्थाबारे युवा सहजै पत्ता लगाउन सक्छन् । उच्च शिक्षाका लागि विदेश जान लर्काे लाग्नुको मुख्य कारण पनि यही हो ।

त्यसैले अहिलेको युवापुस्ता राम्रो र गुणस्तरीय शिक्षासँगै रोजगारीको अवसरको खोजीमा विश्वका विभिन्न देश पुग्ने गरेका छन् । नेपालबाट बर्सेनि हजारौँको संख्यामा युवाहरू अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, चीन, भारत, आयरल्याण्डलगायत एक सयभन्दा बढी देशमा अध्ययनका लागि जाने गरेका छन् ।

यसरी हामीले हाम्रो छोराछोरीलाई अध्ययनका लागि विदेश पठाइरहँदा विभिन्न कुरामा ध्यान पुर्याउन जरुरी हुन्छ । हाम्रो सानो गल्तीले उनीहरूले विदेश पुगेपछि दुःख पाउन सक्छन् । त्यसकारण अध्ययनका लागि तपाईं छोराछोरीलाई विदेश पठाउँदै हुनुहुन्छ भने गम्भीर रूपमा सोचेर, विवेकपूर्ण ढंगले निर्णय लिनुपर्ने हुन्छ ।



विशेष गरी कुन देश पठाउने ? कुन कोर्स अध्ययन गर्न पठाउने ? कुन विश्वविद्यालय वा कलेजमा पठाउने ? कसरी आर्थिक पक्षलाई व्यवस्थापन गर्ने ? भन्ने कुरामा पहिलो चरणमा तपाईं आफैँले घर–परिवारसँग छलफल गर्नुपर्ने हुन्छ । आफ्नो आर्थिक क्षमताअनुसारको देशमा छोराछोरीलाई पठाउने विषयमा परिवारका सदस्यसँग कुराकानी गर्नुपर्छ । धेरै खर्च लाग्ने देशमा पठाउँदा आफ्नो आर्थिक अवस्थाले नधान्न सक्छ । त्यसमा हामीले विशेष ध्यान पुर्याउनुपर्छ ।

त्यसपछि तपाईंले आफ्नो छोराछोरीसँग पनि छलफल गर्नुपर्छ । उनीहरूको चाहना के छ, कुन देश, कुन विश्वविद्यालय र कुन कोर्स अध्ययन गर्ने उनीहरूको चाहना छ, त्यसबारे बुझ्नुपर्छ । भविष्यमा उनीहरूले के गर्ने सोच बनाएका छन्, त्यसलाई अभिभावकले बुझ्न जरुरी हुन्छ । छोराछोरीको चाहना अभिभावकलाई थाहा हुने भए पनि अभिभावकत्व महसुस गराउन उनीहरूलाई एकपटक सोध्न आवश्यक हुन्छ ।



अहिलेको पुस्ता अभिभावकले आफ्नो चाहना थोपरेको मन पराउँदैनन् । छोराछोरीको चाहना र खुसीमा अभिभावकले मार्गनिर्देशन गर्नु उपयुक्त हुन्छ । यसरी निर्णय लिँदा विद्यार्थीहरूले पनि अपनत्व महसुस गर्न पाउँछन् र पढाइमा उनीहरू स्वतःस्फूर्त रूपमा लाग्न सक्छन् ।

प्रविधिका कारण अहिलेका युवापुस्ता हरेक कुरामा अब्बल देखिन्छन् । त्यसैले उनीहरूको निर्णयमा हस्तक्षेप नगरी सहमतिमा नै अघि बढ्नु उपयुक्त हुन्छ । कुन देश जाने, कुन विश्वविद्यालयमा कुन कोर्स अध्ययन गर्न जाने भनेर पारिवारिक निर्णय गरिसकेपछि पनि त्यसलाई नै अन्तिम निर्णय बनाउनुहुँदैन । किनभने तपाईंले अन्तिम निर्णय लिनुभन्दा अघि त्यस विषयमा विज्ञ व्यक्तिहरूसँग सुझाब लिन जरुरी हुन्छ ।



परिवर्तित समयअनुसार विभिन्न देशले अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा विभिन्न नियम परिमार्जन गरिरहेका हुन्छन् । जुन कुरा अभिभावक र विद्यार्थीलाई थाहा नहुन सक्छ । त्यसैले अध्ययनका लागि विदेश जाने अन्तिम निर्णय लिनुभन्दा पहिला परामर्श क्षेत्रमा काम गरिरहेका अनुभवी व्यक्तिसँग सल्लाह लिन जरुरी हुन्छ ।

लामो समयदेखि कन्सल्टेन्सी सञ्चालन गरेका, धेरै विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाएका र कुनै विवादमा नआएका शैक्षिक परामर्शदाता वा संस्थासँग सल्लाह लिनुभयो भने तपाईं र तपाईंका छोराछोरीको विदेशबाट उच्च शिक्षा हासिल गर्ने योजना थप मजुबत बन्न सक्छ ।

कुनै चिनेजानेको कन्सल्टेन्सी वा विज्ञ छ भने त्यहीँ बुझ्दा राम्रो, छैन भने देशभर अहिले ठूलो संख्यामा कन्सल्टेन्सी सञ्चालनमा छन् । तपाईंको नजिकै रहेका तीनदेखि चारवटा कन्सल्टेन्सीमा पुगेर बुझ्न सक्नुहुन्छ । त्यसो गर्दा तपाईंले सत्यतथ्य जानकारी पाउन सक्नुहुन्छ । एउटा मात्र कन्सल्टेन्सीको भर पर्नुहुँदैन । परामर्श लिँदा कुनै शुल्क नलाग्ने भएकाले तपाईंले आफूलाई चित्त नबुझ्दासम्म त्यसबारे बुझ्न सक्नुहुन्छ ।

कन्सल्टेन्सीको छनौट गर्दा सकेसम्म नाम चलेका र लामो समयदेखि परामर्श क्षेत्रमा काम गरिरहेका छान्नुपर्छ । त्यस्ता कन्सल्टेन्सीले आफ्नो प्रतिष्ठा जोगाइराख्न पनि गलत काम गरेका हुँदैनन् भनेर विश्वास गर्न सकिन्छ । भिसा भनेको प्राविधिक कुरा भएकाले यही क्षेत्रमा लामो समयदेखि काम गरेका व्यक्ति वा संस्थाहरू बढी जानकार हुन्छन् । अध्ययनका लागि विदेश जाँदा वा छोराछोरीलाई पठाउँदा तपाईंलाई सहयोग गर्ने कन्सल्टेन्सी नेपाल सरकारबाट अनुमतिप्राप्त छ वा छैन भनेर जान्न जरुरी छ ।

नेपालमा कन्सल्टेन्सी सञ्चालन गर्न अनिवार्य रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएको हुनुपर्छ । शिक्षा मन्त्रालयले हालसम्म एक हजार चार ७३ कन्सल्टेन्सीलाई सञ्चालन अनुमति दिएको छ । सरकारबाट सञ्चालन अनुमति लिएका कन्सल्टेन्सीमार्फत अध्ययनका लागि विदेश जानु वा आफ्ना छोराछोरीलाई पठाउनु भनेको सुरक्षित हुनु हो । प्रमाणित संस्थाबाट गएका विद्यार्थी कुनै दिन विदेशमा समस्यामा परे भने राज्यसँग गुनासो गर्ने ठाउँ रहन्छ ।

अनुमति लिएका हरेक कन्सल्टेन्सी सरकारको नजरमा हुन्छन् । त्यसैले सरकारबाट अनुमतिप्राप्त कन्सल्टेन्सी छनौट गर्नु भनेको आफू सुरक्षित हुुनु हो । कन्सल्टेन्सीका नाममा कतिपय संस्थाले ठगी गर्ने गरेका घटना पनि विभिन्न सञ्चारमाध्यममा आइरहेका हुन्छन् । त्यस्ता कन्सल्टेन्सीबाट टाढा रहनु नै राम्रो हुन्छ ।

दुईदेखि चारवटा कन्सल्टेन्सीमा अनिवार्य बुझ्ने

नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने अधिकांश विद्यार्थी मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिका रहन्छन् । जसलाई घरपरिवारले बैंकबाट ऋण वा आफन्तबाट सरसापट गरेर विदेश पठाइरहेका हुन्छन् । एउटा मात्र कन्सल्टेन्सीको भर परेर उसले मागेजति रकम बुझाइहाल्नुहुन्न । तपाईंको सानो गल्तीले पूरै परिवार नै सडकमा आउन सक्छ । त्यसैले सबैभन्दा पहिला वैदेशिक शिक्षाबारे बुझ्न जरुरी हुन्छ ।

घरपरिवारको अपेक्षा अध्ययनपछि छोराछोरीले राम्रो कमाइ गर्लान् भन्ने हुन्छ । त्यसैले यो कुरा अध्ययनका लागि विदेश जाने हरेक विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो । जसमा परिवारको आशा पनि जोडिएको हुन्छ । विद्यार्थीको भविष्य र परिवारको अपेक्षा जोडिएको विषयमा खेलाँची गर्नुहुँदैन । तपाईंको एउटा गलत निर्णयले परिवार र छोराछोरीको भविष्य बर्बाद हुनसक्छ । त्यसकारण सही निर्णय लिनका लागि तपाईंले अनिवार्य रूपमा दुईदेखि चारवटा कन्सल्टेन्सीसँग अध्ययनका लागि जान लागेको देश, विश्वविद्यालय र कोर्सबारे बुझ्नुपर्छ ।

नेपाली युवा उच्च शिक्षाका लागि जाने देशको अध्यागमनले हेर्ने भनेको हाम्रो आर्थिक अवस्था र नियत हो । विश्व परिवेशमा हाम्रो देशको पासपोर्ट आफैँमा कमजोर मानिन्छ । तपाईंको पारिवारिक पृष्ठभूमि र प्रमाणपत्रलाई कन्सल्टेन्सीले तपाईं जान चाहेको देशले मागेअनुसारको कागजपत्र मिलाइदिन मद्दत गर्छन् । कन्सल्टेन्सीले तपाईंसँग भएकै कुरालाई मिलाउने हो । प्राविधिक कुरा भएकाले त्यसमा तपाईं जानकार नहुन सक्नुहुन्छ । त्यसकारण पनि कन्सल्टेन्सीको मद्दत लिन आवश्यक पर्छ ।

विदेश जाने अन्तिम निर्णय लिएपछि के गर्ने ?

माथि उल्लेख गरिएबमोजिम अघि बढ्दासम्म तपाईंले कुन देश, विश्वविद्यालय र कुन कोर्स अध्ययन गर्न जाने भन्ने अन्तिम निर्णय लिइसकेको हुनुहुन्छ । तर, हामीले निर्णय लिँदैमा विदेश जान पाइन्छ भन्ने त पक्कै हुँदैन । त्यसका लागि जान खोजेको देशले तपाईंलाई योग्य ठानेर भिसा दिनुपर्छ ।

भिसा पाउनका लागि तपाईंसँग भएका प्रमाणपत्रहरूलाई बलियो बनाउन जरुरी हुन्छ । तपाईं कागजी रूपमा नै कमजोर देखिएको खण्डमा सम्बन्धित देशले भिसा दिन अस्वीकार गर्छ । कतिपय विद्यार्थी पारिवारिक रूपमा सक्षम हुँदाहुँदै पनि भिसा नपाएर विदेश जान पाइरहेका हुँदैनन् । त्यसको कारण हो सही ‘डकुमेन्टेसन’ नहुनु । हामी सक्षम हुँदाहुँदै पनि डकुमेन्टेसन सही तरिकाले भएन भने हाम्रो भिसा आउने सम्भावना कम हुन्छ । त्यसैले हामीले कन्सल्टेन्सीको सल्लाह लिएर उसले मागेअनुसारको सही सूचना तथा प्रमाणपत्रहरू उपलब्ध गराउन जरुरी हुन्छ ।

प्रमाणपत्र लिन वडा कार्यालयमा वा अन्य कुनै प्रशासनमा जाँदा त्यहाँ अभिभावक र विद्यार्थीसँग सँगै जानुपर्छ । जसले गर्दा छोराछोरी पनि योग्य हुन्छन् । कुन काम कसरी गर्ने, परिवारको आम्दानीको स्रोत के हो लगायत विषयमा जानकारी पाउँछन् । प्रमाणपत्र लिनेलगायत सबै कुरामा विद्यार्थी पनि सहभागी भएको खण्डमा अन्तर्वार्ता दिँदा होस् वा अध्यागमनलाई जवाफ दिँदा उनीहरूमा आत्मविश्वास बढेर जान्छ र निर्धक्क भएर सोधेका प्रश्नको जवाफ दिन सक्छन् । अन्तर्वार्ता दिँदा विद्यार्थी अलमलमा परे भने भिसासमेत नआउन सक्छ । त्यसैले हरेक क्रियाकलापमा अभिभावक र विद्यार्थी सँगसँगै हुनुपर्छ ।

भिसा प्रोसेसपछि के गर्ने ?

अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन भिसा दिने अधिकांश देशले अध्ययनसँगै ‘पार्टटाइम’ काम गर्ने सुविधा पनि दिएका हुन्छन् । त्यसैले जुनसुकै क्षेत्रको भए पनि सीप सिकेर जाँदा विद्यार्थीलाई काम पाउन सहज हुन्छ । ​रोजगारदाताहरूले अनुभवी व्यक्तिलाई नै प्राथमिकतामा राख्ने भएकाले अध्ययनका लागि विदेश जाँदै गर्दा कुनै न कुनै सीप सिकेर जाँदा राम्रो हुन्छ । अनुभव भएको खण्डमा पारिश्रमिक पनि आफूले चाहेअनुसार माग गर्न सकिन्छ । तर, अध्ययन भिसामा गएका विद्यार्थीले पढाइलाई असर पर्ने गरी काम गर्न भने हुँदैन । किनभने तपाईं त्यहाँ काम गर्न होइन, अध्ययन गर्न जानुभएको हो । यो कुरालाई विद्यार्थीले कहिल्यै पनि भुल्नुहुँदैन ।

त्यहाँको अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि हरेक समय निगरानी गरिरहेको हुन्छ । उनीहरूको कारबाहीमा परेको खण्डमा स्वदेश फिर्ता हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले नियमअनुसार चल्नुको विकल्प हुँदैन । विद्यार्थीले विदेश जानुअघि बारिष्टा, आइटीसम्बन्धी तालिम, कुकिङ, हेयर ड्रेसिङलगायत अनुभव लिएर जाँदा राम्रो हुन्छ । यी क्षेत्रमा छिटो रोजगारी पाइनुका साथै राम्रो आम्दानी पनि गर्न सकिन्छ । विद्यार्थी जुन देश जान लागेको हो, त्यहाँको वेशभूषा, भाषा संस्कृति तथा रहनसहनबारे जानकारी तथा तालिम लिएर जाँदा घुलमिल हुन सहज हुन्छ ।

पैसा पठाएनन् भनेर छोराछोरीसँग गुनासो नगरौँ

अध्ययनका लागि छोराछोरीलाई विदेश पठाएका अधिकांश अभिभावकको गुनासो पैसा पठाएनन् भन्ने हुन्छ । तर, अभिभावकले बुझ्नुपर्ने कुरा के हो भने छोराछोरी कमाउन नभई अध्ययन गर्न गएका हुन् । त्यसैले घरपरिवारबाट पैसा पठाऊ भनेर अनावश्यक तनाव दिनुहुँदैन ।

ऋण गरेर पठाएपछि अभिभावकले अपेक्षा गर्नु स्वाभाविक हो । तर, विद्यार्थी कस्तो परिस्थितिबाट गुज्रिरहेको छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । घरपरिवारकै अनावश्यक दबाबका कारण विद्यार्थी गलत बाटोमा लागेका, घरपरिवारबाट सम्पर्कविहीन भएका घटना पनि थुप्रै छन् । त्यसैले यस्ता कुरामा अभिभावकले ध्यान पुर्याउन जरुरी हुन्छ ।

अध्ययन सकिएपछि अधिकांश देशले आफ्नो नियमअनुसार विद्यार्थीलाई ‘पोष्ट स्टडी वर्क’को सुविधा दिएका हुन्छन् । यो सुविधाको उपयोग गरेर विद्यार्थीले राम्रो आम्दानी गर्न सक्छन् ।  हामीले आफ्ना छोराछोरीलाई अध्ययनका लागि विदेश पठाउँदै गर्दा नै आवश्यक परेको खण्डमा नेपालबाट पैसा पठाउनुपर्ने हुन सक्छ भन्ने मानसिकता बनाउनुपर्छ । त्यसैले घरको दुःख देखाएर, पैसा पठाउन दबाब दिनुहुँदैन । 

विद्यार्थीलाई पढ्ने वातावरण घरपरिवारले पनि बनाइदिनुपर्छ । आफ्नो देश, परिवार र साथीभाई छाडेर विदेश गइसकेपछि विद्यार्थी आफैँ तनावमा हुन्छन्, त्यसमाथि आर्थिक तनाव थपिदिनुहुँदैन । बरु सुरुमै आफ्नो आर्थिक क्षमताले धान्ने खालका देशमा पठाउँदा राम्रो हुन्छ । विद्यार्थीलाई आर्थिक तनाव नभई अध्ययनका लागि प्रेरणा दिनुपर्छ । विद्यार्थीले पार्टटाइम काम गरेर आफ्नो खर्च आफैँ व्यवस्थापन गर्न सके भने पनि त्यसलाई राम्रो मान्नुपर्छ ।

छोराछोरीको पढाइमा ध्यान दिऔँ

अध्ययनका लागि छोराछोरीलाई विदेश पठाइहाल्यौँ भनेर अभिभावक कहिले पनि ढुक्क भएर बस्नुहुँदैन । त्यति धेरै लगानी गरेर विदेश पठाएपछि उनीहरूले राम्रोसँग पढिरहेका छन् कि छैनन्, नियमित कलेज गएका छन् कि छैनन्, कलेजले दिएका असाइनमेन्ट समयमा गरिरहेका छन् वा छैनन् भनेर चेकजाँच गर्नुपर्छ । नत्र विद्यार्थीको भविष्य र अभिभावकको लगानी बालुवामा पानीसरह हुनसक्छ । त्यसैले उनीहरूलाई बेला–बखतमा सल्लाह–सुझाब दिइरहनुपर्छ ।

घरपरिवारभन्दा टाढा हुने भएकाले के–कस्ता साथीभाइको संगत गरिरहेका हुन्छन् त्यो पनि थाहा हुँदैन । त्यसैले उनीहरूलाई सजग बनाउन जरुरी हुन्छ । नयाँ परिवेश, नयाँ वातावरण र त्यहाँको सांस्कृतिक माहोलसमेत फरक हुने भएकाले विद्यार्थीलाई त्यसले बढी आकर्षित गर्न सक्छ । त्यहाँको पार्टी कल्चर, बार कल्चर र ड्रिंक्स कल्चरले उनीहरूलाई कुलतमा पुर्याउन सक्छ । त्यसैले छोराछोरीका साथीभाइ, आफन्तलगायतसँगको सहकार्यमा छोराछोरीको हरेक क्रियाकलापलाई अभिभावकले निगरानीमा राख्न जरुरी हुन्छ । विदेशमा कोही पनि नभएको खण्डमा छोराछोरीले अध्ययन गरिरहेको विश्वविद्यालय वा प्रध्यापकलगायतसँग समन्वय गरेर पनि विद्यार्थीको बारेमा बुझ्न र जान्न सकिन्छ ।

विदेशमा सुविधा पाइएला, सुख पाइँदैन

अहिले अधिकांश युवालाई नेपाल छाड्न पाइयो भने भविष्य बन्छ भन्ने मानसिकताले गाँजेको छ । जसका कारण जो–कोही नेपाली युवा जतिसक्दो चाँडो सधैँका लागि देश छाड्न चाहन्छन् । यसरी सधैँका लागि देश छाड्नेमा अध्ययनका लागि विदेश गएका युवाहरूको जमात नै बढी छ ।

यसरी युवाले देश छाड्नुमा हाम्रो समाज र अभिभावकको पनि भूमिका छ । हामीले हाम्रा छोराछोरीको मानसिकतामा नेपालमा केही हुँदैन, भविष्य बनाउन विदेश जानुपर्छ भन्ने सोचको जरा गाडिदिएका छौँ । जसका कारण उनीहरू आफ्नो भविष्य सुरक्षित गर्न विदेशमै पलायन हुने मौका खोजिरहेका हुन्छन् ।

नेपालमा केही हुँदैन भन्ने मानसिकतालाई अब बदल्न जरुरी छ । अध्ययन गर्न विदेश गए पनि कर्म गर्न नेपाल आउनुपर्छ, जे गरे पनि आफ्नै देशमा गर्नुपर्छ भन्नेमा हामीले जोड दिनुपर्छ । विदेशले सुविधा दिन सक्ला, तर सुख मातृभूमिले मात्र दिन्छ भन्ने मान्यता हामीले स्थापित गर्नैपर्छ । अब यसमा ढिलो गर्ने छुट हामीलाई छैन । 

(लेखक खड्का हब इन्टरनेशनल एजुकेशनकी प्रमुख कार्यकारी अधिकृत हुन् ।)

  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया