logo-img

विश्वकपमा नामिबियाको विजयी सुरुवात, ओमान सुपर ओभरमा पराजित

नामिबियाले नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न खेलमा ओमानलाई सुपर ओभरमा हराउँदै नामिबियाले विश्वकपमा विजयी सुरुवात गरेको हो ।

निर्धारित समयमा १ सय १० रनको लक्ष्य पछ्याउनेक्रममा अन्तिम ओभरमा नामिबियालाई जितका लागि ६ बलमा ५ रन आवश्यक थियो । तर, उसले २ विकेट गुमाएर ४ रन मात्र जोड्यो । र, सुपर ओभरमा धकेलियो । 

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै नामिबियाले २१ रन बनायो । उसका लागि डेविड भिसेले १३ र कप्तान गेर्हार्ड इरास्मसले अविजित ८ रन बनाए । २२ रनको लक्ष्य पछ्याएको ओमानले सुपर ओभरमा एक विकेट गुमाएर १० रन मात्र बनाउन सक्यो ।  

त्यसअघि नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनायो । उसका लागि जान फ्रिलिन्कले ४८ बलमा ६ चौकासहित सर्वाधिक ४५ रन बनाए । यस्तै, निकोलास डेभिनले २४ र कप्तान गेर्हार्ड इरास्मसले १३ रन जोडे । ओमानका लागि मेहरान खानले तीन, अयान खान, अकिब इलियास र बिलाल खानले एक/एक विकेट लिए ।  

त्यसअघि बार्बाडोसस्थित केन्सिङ्टन ओवलमा टस हारेर ब्याटिङको मौका पाएको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । उसका लागि खालिद कैलले ३९ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक ३४ रन बनाए । 

यस्तै, जीशान मक्सूदले २२, अयान खानले  १५ र शाहील अहमदले ११ रन जोडे । नामिबियाका लागि बायाँहाते तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले सानदार बलिङ गरे । उनले ४ ओभरमा २१ रन दिएर चार विकेट लिए । 



टी–२० आईमा ट्रम्पलम्यानको यो करियरकै उत्कृष्ट बलिङ स्पेल हो । यस्तै, डेविड भिसेले तीन, कप्तान गेहार्ड इरास्मसले दुई र बर्नार्ड स्कोल्ट्जले एक विकेट हात पारे । विश्वकपमा आज दक्षिण अफ्रिका र श्रीलंका पनि भिड्ने छन् । 

समूह ‘डी’ मा रहेका दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल राति ८ः१५ देखि सुरु हुनेछ । समूह ‘डी’ मै रहेको नेपालले पहिलो खेल मंगलबार नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । 



नेपाल र नेदरल्याण्ड्सबीचको उक्त खेल राति ९ः१५ देखि अमेरिकाको डालासमा सुरु हुनेछ ।    

  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया