logo-img

ओली-बालेन सम्बन्ध : बिग्रिएको कहाँ हो ?
झापा गिरिबन्धु घोटाला प्रकरणमा ओलीलाई जेलमा जाक्ने बालेनको अभिव्यक्ति : अब के हुन्छ एमालेको प्रतिक्रिया ?

कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नै निवासमा स्वागत गर्दै ‘नफुट्ने ’ उपहार दिएका थिए । त्यो बेला ओलीले बालेनलाई दिएको नफुट्ने ‘मेटल तबला’ उपहारको खुबै चर्चा भएको थियो । यी दुईबीच सम्बन्ध मजबुत बन्दै थियो । तर, अहिले भने सम्बन्ध बिग्रेर  ‘टुक्रा टुक्रा ’ भएको सहजै देख्न सकिन्छ । 

अहिले एक अर्काप्रति लक्षित कटाक्ष, आक्रोश, आरोपप्रतिआरोमा उत्रिँदै आएका छन् । हालै ओलीले बालेनलाई कुनै सभ्यता नै नभएको भनेर टिप्पणी गरेका थिए । मेयर बालेन पनि ओलीप्रति आक्रोशित हुँदै गएका छन् । 

सडकका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएको थियो । उक्त घटनापछि मेयर बालेन र एमाले नेता तथा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको सम्बन्ध मात्रै चिसिएन पार्टी अध्यक्ष ओली र बालेनबीच नै दरार उत्पन्न भएको हो । 

बालेनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भन्दै विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको हो । 

बालेनको उक्त कदमपछि एमाले पार्टी कार्यालयमा भएको एक बैठकमा ओलीले भनेका थिए, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन ? उनीहरुको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्याबात् लेख्छ । अनि अरू चुप लागेर बस्छन् झोक्राएर । यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन ! यो एउटा महत्त्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ?’

ओली–बालेनबीच अनेक विषयमा आरोपप्रतिआरोप भए पनि मुख्य विषय न्युरोड सडकको विवाद हो । फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले न्युरोडमा सडक भत्काएको हो । तर, सोही सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । अहिले सडक डिभिजन र महानगरबीच तनावको वातावरणसमेत सृजना भएको छ । बालेनले फुटपाथ बढाउन खोज्दा भौतिक पूर्वाधारमन्त्री महासेठ र ओलीले त्यसको विरोध गरेका हुन् । त्यस विषयले बालेन ओलीप्रति थप आक्रोशित बनेका हुन् । 



सोमबार सामाजिक सञ्जालबाट बालेनले ओलीलाई ‘जेल जानुपर्ने दिन आउन सक्ने’ सम्मको चेतावनी दिए । मेयर बालेनले ओलीले आफ्ना कर्तुत लुकाउन लागिपरेको बताए । सामाजिक सञ्जालमा उनले स्टाटस लेखे, ‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन जनतामा भ्रम नछर्नुहोस् ।’ 

ओलीको सहमति बिना गिरिबन्धु घोटाला हुनै नसक्ने बालेनको भनाई छ । बालेनले भनेकाका छन्, ‘ओलीज्यू, झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईँको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईँलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’  



‘आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ बालेनले अगाडि भनेका छन् ।  

  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया