logo-img

साेह्र लाख पर्यटक भित्र्याउने सरकारकाे लक्ष्य, तर कहिले सुधार हुन्छन् यी पक्ष ? [भिडियोसहित]

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको छ । त्यसका लागि नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख छ । पर्यटक भित्र्याउनका लागि छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटकलक्षित रोड–सो, मेला, महोत्सवजस्ता पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने विषय पनि बजेटमा समेटिएको छ । यस्तै, निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा नाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिक स्थल दर्शन गर्ने व्यवस्था मिलाइने सरकारले जनाएको छ ।

पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्न ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेललगायत पर्यटकीय पूर्वाधारको विकास गरिने, पुराना प्रचलनमा रहेका पदमार्गको संरक्षण र सम्बर्द्धन गरिने र सम्भावित जोखिमयुक्त क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गर्ने पनि सरकारले बजेटमार्फत घोषणा गरेको छ । साथै पर्यटन पूर्वाधार विकासका लागि मात्र आगामी आर्थिक वर्षका लागि सरकारले ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । यसले उल्लेख्य विदेशी पर्यटक नेपाल भित्रिने सरकारको अपेक्षा छ ।

यसअघि सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो । जुन सरकारको लक्ष्य पूरा पनि भएको थियो । वर्षभरिमा १० लाख १४ हजार ८७४ पर्यटक घुम्न आएका थिए । त्यस्तै, नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना र सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए । सन् २०१९ को आगमन नै अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो । त्यसपछिका वर्षमा कोरोना भाइरस संक्रमणले गर्दा आगमन खस्केको थियो । 

५ महिनामा कति भित्रिए पर्यटक ?

पछिल्लो समय पर्यटकको आगमनको संख्या बढ्दो छ । सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ । जनवरीदेखि मेसम्ममा ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भित्रिँदा अप्रिलमा १ लाख ११ हजार ३७६ र मे महिनामा ९० हजार २११ पर्यटक नेपाल आएका छन् । मार्च र अप्रिलमा १ लाखमाथि पर्यटक नेपाल भित्रिए पनि पछिल्लो समय केही घट्दो क्रममा छन् । उक्त समय नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेको संख्या धेरै थियो । तर, मनसुनको समय भएकाले पर्यटक आगमन केही कम भएको पर्यटन विभागले जनाएको छ । 



कुन देशबाट कति आए ? 

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन् । यस्तै, दोस्रो स्थानमा चिनियाँ छन् । पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् । तेस्रो स्थानमा अमेरिकी छन् । पाँच महिनामा ४५ हजार ३ सय ७३ अमेरिकी पर्यटक नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, बंगलादेश, बेलायत, थाइल्यान्ड, म्यानमारजस्ता मुलुकबाट भने नेपालले अपेक्षित पर्यटक भित्र्याउन सकिएको छैन । 



१६ लाख पर्यटक भित्र्याउन कति सम्भव ? 

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वार्षिक १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०२४ को पाँच महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो लक्ष्य पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ । नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ । सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटक मानिँदैनन् । 

सरकारले यसरी संख्या नै तोकेर पर्यटक भित्र्याउने घोषणा गरेको यो पहिलोपटक भने होइन । सन् २०२३/२०३३ भ्रमण दशक घोषणा गरेको सरकारले २०२३ लाई विशेष वर्षका रूपमा अघि सारेको थियो । भ्रमण दशकमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पहिलो वर्ष १० लाखको लक्ष्य राखेको थियो ।

जुन लक्ष्य सरकारले पूरा पनि गर्यो । यसबाट हौसिएको सरकारले फेरि आगामी आर्थिक वर्ष १६ लाखको लक्ष्य राखेको छ । त्यसभन्दा अघि सरकारले एक वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी महत्वाकांक्षी योजना घोषणा गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनासहित सरकारले ‘भिजिट नेपाल २०२०’ घोषणा गरेको थियो ।

तर, भ्रमण वर्ष सुरु हुँदा नहुँदै विश्वभर कोभिड–१९ को महामारी सुरु भयो । विश्वभर ‘लकडाउन’ हुँदा अन्य क्षेत्रजस्तै पर्यटन गतिविधि पनि प्रभावित भयो । र, २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भिजिट नेपाल २०२० समेत प्रभावित भयो । त्यस वर्ष मुस्किलले २ लाख पर्यटक नेपाल भित्रिए । कोरोनापछि (२०२२ पछि) क्रमशः पर्यटन क्षेत्र सुधारोन्मुख छ । पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेका छन् । तर, सरकारले लिएको १६ लाखको लक्ष्य पूरा हुनेमा आशंका उब्जिन थालेको छ । 

पर्यटन व्यवसायीले सरकारको लक्ष्य पूरा नहुने तर्क गरिरहेका छन् । नेपाल एसोसिएसन टुर्र एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने जनाएको छ । 

आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यपछि नाट्टाका अध्यक्ष रमेश थापाले एक विज्ञप्ति जारी गर्दै व्यवसायीले हवाई टिकटमा लगाएको भ्याट हटाउन सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइए पनि नहटाउँदा पर्यटन व्यवसायी र हवाई यात्रुलाई समस्या परेको उल्लेख गरे । ‘गत वर्षको बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेपछि पर्यटन व्यवसायी र हवाईयात्रु मर्कामा परेका छन्, जसका कारण नेपाल घुम्न आउने पर्यटकको संख्यासमेत उल्लेख्य मात्रामा बढ्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ । अध्यक्ष थापाले हवाई क्षेत्रको विकासका रूपमा सम्पन्न भइसकेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा भ्याट बढाउँदा आगामी आवमा पर्यटक भित्र्याउनका लागि सरकारले राखेको लक्ष्य पूरा हुन नसक्ने उल्लेख गरे ।

‘सरकारले बजेमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य त सार्वजनिक गरेको छ । तर, त्यो लक्ष्य निकै पर छ,’ उनी भन्छन्, ‘किनकि हामी अझै कोरोना संक्रमणअघिको संख्यामा उक्लिन सकेका छैनौँ, उक्लिने प्रयासमा मात्र छौँ । यो वर्ष कोरोना संक्रमणअघि (२०१९)को हाराहारीमा आगमन हुनसक्छ ।’ 

करिब १२ लाख पर्यटक भित्र्याउने कसरत भइरहेको बेला १६ लाख पुर्याउँछौँ भन्नु महत्वाकांक्षा मात्रै हुने उनको तर्क छ । यो वर्ष करिब १२ लाख विदेशी पर्यटक भित्रिने अनुमान भने सहज हुन सक्छ । हवाईमार्गबाट आउने पर्यटकको संख्या मात्र १६ लाख लक्ष्य पूरा गर्न सहज नभएको उनको दाबी छ । 

के भन्छ सरकार ?

यता, सरकार भने १६ लाख पर्यटक भित्र्याउन कुनै कठिनाइ नरहेको तर्क गर्दै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले एक कार्यक्रममा बोल्दै आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुने दाबी गरे । उनले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीलगायत सबैसँग समन्वय, सहकार्य गरेर एकआपसमा विश्वासको वातावरण सिर्जना गरी जानुपर्ने आवश्यकता रहेको पनि बताए ।

यस्तै, अघिल्लो वर्ष प्राप्त भएको १० लाखको सफलता र पर्यटन पूर्वाधारमा भएको विकास एवं विस्तारले १६ लाखको लक्ष्य पूरा गर्न कठिन नहुने तर्क गर्छन्, नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने । उनका अनुसार आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउन कुनै कठिनाइ हुने छैन । ‘पछिल्लो समय पर्यटक आगमनको संख्या बढ्दो छ,’ उनी भन्छन्, ‘यो ट्रेन्डलाई हेर्दा पनि पर्यटक बढ्छन् । १६ लाख पर्यटक भित्र्याउन कुनै ठूलो समस्या छैन ।’ तर, उनले १६ लाख पर्यटक भित्र्याउन अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र पर्याप्त नहुने तर्क गरे । त्यसका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण दशक घोषणा गरिसकिएको छ,’ प्रवक्ता लामिछाने भन्छन्, ‘१६ लाख ठुलो संख्या होइन । तर, पोखरा र गौतमबुद्ध विमानस्थलको सञ्चालन र हवाई सेवा विस्तारमा जोड दिनुपर्छ ।’ सरकारले बजेटमै हवाई पूर्वाधारकै क्षेत्रमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्दै, भैरहवास्थित गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थललाई समेत शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । 

साथै, राष्ट्रिय गौरवको आयोजनको रूपमा अघि सारिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसमेत सार्वजनिक–निजी साझेदारीमा आगामी आर्थिक वर्षबाटै निर्माण कार्य थालनी गर्ने प्रतिबद्धता जनाएको छ । त्यसकारणले सरकारको लक्ष्य पुरा नहुनेमा कुनै शंका नरहेको उनी बताउँछन् । त्यसका लागि सरकारले सशक्त रूपमा अन्तराष्ट्रिय बजारीकरणमा ध्यान दिने उनको भनाइ छ । विशेष गरेर भारतीय तथा चिनियाँ पर्यटक लक्षित मार्केटिङ क्याम्पेनिङ आयोजना गर्ने लक्ष्य सरकारको छ । ‘पर्यटकका लागि हाम्रो मार्केटिङ भनेको भारत र चीन नै हो । यहाँका पर्यटकलाई मात्र आकर्षित गर्न सक्यौँ भने १६ लाख हैन, २० लाख नै पर्यटक भित्र्याउन सकिन्छ,’ उनी भन्छन् । 

छन् चुनौतीका चाङ !

पर्यटन क्षेत्र पनि देशको अर्थतन्त्रको मेरुदण्ड हो । यस विषयलाई गम्भीर तरिकाले सोच्ने र भावी योजना बनाएर बढ्ने हो भने पर्यटनले देशको आर्थिक समृद्धिमा ठूलो भूमिका खेल्ने देखिन्छ । प्राकृतिक सौन्दर्यले सम्पन्न धनी देश नेपाल अत्यन्त सुन्दर, शान्त, रमणीय देशको रूपमा चिनिन्छ । यसलाई हाम्रो पहिचानको दायराभित्र राखेर फराकिलो र विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

नेपालमा प्राकृतिक दृश्य, पदयात्रा, धार्मिक महत्व, संस्कार/संस्कृति/रहनसहन सिक्नको लागि, वेशभूषा बदल्न, विभिन्न रहरहरू पूरा गर्नका लागि विभिन्न क्षेत्रबाट पर्यटक भित्रिने गरेका छन् । पर्यटन क्षेत्रलाई एउटा मुख्य विधाका रूपमा लिन सके देशको अर्थतन्त्र सुदृढ हुँदै जाने देखिन्छ । थाइल्यान्ड, भारत, इन्डोनेसिया, भुटानलगायत धेरै देशले पर्यटन विकासबाटै आर्थिक समृद्धि हासिल गरेका उदाहरण छन् । 

तर, नेपालले पर्यटन क्षेत्रबाट लाभ लिन सकेको छैन । सरकारले पर्यटन क्षेत्रमा लगानी गर्न र नयाँ–नयाँ योजना ल्याउन निकै बाँकी रहेको बताउँछन्, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष थापा । उनका अनुसार नेपालमा आवश्यक पूर्वाधार नै छैन । यति मात्र होइन, हवाई सेवा पर्यटन विकासका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । खासगरी युरोपियन युनियनले नेपाली हवाई उडान र आकाशलाई कालो सूचीमा राखेसँगै नेपालको पर्यटन क्षेत्रलाई ठूलो असर गरेको उनी बताउँछन् । यसले युरोप क्षेत्रका पर्यटकमा मात्र नभई समग्र नेपाली पर्यटनमा नै नकारात्मक प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले २०१७ मा नै नेपालाई कालोसूचीबाट हटाए पनि युरोपियन युनियनले अझै नहटाएका कारण नेपाली हवाई उडानमाथिको अविश्वास उल्लेखनीय रूपमा घट्न सकेको छैन । 

उनी भन्छन्, ‘नेपालमा अलि रिस्क फ्याक्टर छ भन्ने तरिकाले बुझाइएको छ । सरकारले त्यो हटाउन सकेको छैन,’ उनी भन्छन्, ‘जसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ ।’ सरकारले पर्यटकीय सिजनबाहेकका महिनामा पनि पर्यटक ल्याउने वातावरणको विकास गर्नुपर्ने उनको भनाइ छ । ‘पर्यटकलाई इन्गेज गर्ने गन्तव्यहरूको विकास पनि सरकारले गर्दै लानुपर्छ,’ उनी भन्छन्, ‘हाल पर्यटकीय गन्तव्य सीमित छन् । पर्यटकीय गन्तव्यमा जानका लागि सहज वातावरण छैन । सडक सुधार भएको छैन । सडक विस्तार गरी पर्यटकका लागि यात्रा सहजीकरण गर्नुपर्छ । यसरी सरकारले दीर्घकालीन सोच, नीति योजना खाकासहित गुणस्तरीय पर्यटक भित्र्याउने योजना अगाडि सार्नुपर्ने देखिन्छ ।’ साथै थोरै आए पनि गुणस्तरीय पर्यटक ल्याउन सकेको खण्डमा राष्ट्र र पर्यटक उद्योगलाई टेवा पुग्ने उनको भनाइ छ । 

त्यसका लागि नेपाल वायुसेवा निगमलाई बलियो बनाएर दुई देशबीच सीधा हवाई मार्गले जोड्न सके टिकट पनि सस्तो भएर पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुन सक्ने उनको आकलन छ । यस्तै, आधुनिक प्रचार प्रसारको माध्यम (डिजिटल)को प्रयोग गरेर नेपालमा पर्यटक आउने सम्भाव्यता भएका मुलुकहरूमा सरकारले प्रचार–प्रसारमा जोड दिनुपर्ने देखिन्छ । 

  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया