logo-img

कम्युनिष्टबहुल सरकार : बालेनप्रति किन अनुदार ? (भिडियोसहित)
के सरकार बालेनलाई पक्राउ गर्ने तयारीमा छ ?

गत शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको व्यवहार असभ्य देखिएको तर त्यसविरुद्ध कोही बोल्न नसकेको भन्दै टिप्पणी गरेका थिए ।

त्यसको केही दिनअघि काठमाडौं महानगरले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भन्दै सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको थियो । 

मेयर शाहकै निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएपछि बालेन एमालेको निशानामा परे । विभागीय मन्त्री उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बालेनले उठाएको मुद्दा सही भए पनि उनको शैली गलत भएको टिप्पणी गरेका थिए । 

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालमा रमाउने युवापुस्ताले सही गलत निर्क्योल गरेर निर्धक्क भन्न नसकिरहेको जिकिर गरेका थिए ।

 ‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ?उनले भनेका थिए, ‘गलत गर्यौ भनेर कसैले भन्न सक्दैन । के हालत होला ?’

युवासंघले यस विषयमा केही नबोलेकोमा आक्रोश पोख्दै उनले भने, ‘छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन ?’ 



त्यसको एक दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनबीच कार्यपालिका बैठकमै भनाभन भएको थियो । 

शुक्रबार बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार भइरहेको कुरा पत्रपत्रिकाबाट थाहा पाउनु परेको बताएका थिए । ‘देशकै एक ल्याण्डमार्क सहरमा पेटी बनाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने, यो किन भइरहेको छ ?, वडाध्यक्षले बैठकमा प्रश्न गरेका थिए । 



मेयर बालेनले फुटपाथ विस्तारको काम वडा नम्बर २४ मा भएकाले वडा नम्बर २२का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताएका थिए । जवाफमा वडाध्यक्ष महर्जनले समग्र न्युरोड क्षेत्रको बारेमा आवाज उठाएको बताएका थिए।

संयोग कस्तो थियो भने मेयरसँग भनाभनमा उत्रिएका चिनिकाजी एमालेबाट निर्वाचित वडाध्यक्ष थिए । वडाध्यक्षसँग नोकझोँक परेको तीन दिनपछि आइतबार सडक डिभिजन कार्यालयले महानगरले सडकपेटी बढाउन भत्काएको बाटोमा पिच गर्न थाल्यो । आफ्नो काममा अवरोध भएपछि महानगर प्रमुख बालेनले सीधै एमाले अध्यक्ष केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा कडा स्टाटस लेखे । 

सोमबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले  ‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन जनतामा भ्रम नछर्न आग्रह गरे । 

बालेनले लेखेका छन्, ‘आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नुभएको हो ।’

उनको थप आक्रोश थियो,‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला केपी ओलीज्यू, झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन, यही  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ । अब बल्ल देश बन्ने भएछ ।’     

बालेनको उक्त स्टाटस आएसँगै काठमाडौ महानगरका प्रहरी न्युरोड क्षेत्रमा पुगे । त्यसअघि नै सडक डिभिजन कार्यालयले सम्पूर्ण सुरक्षा व्यवस्थासहित न्युरोडमा भत्काइएका सडक कालोपत्रे गर्न सुरु गरिसकेको थियो । महानगर प्रहरी र सडक डिभिजनका कर्मचारीबीच केही तनावको स्थिति उत्पन्न भए पनि पछि महानगर प्रहरी पछि हटेको थियो । 

यो काम सडक डिभिजन कार्यालयले रघुवीर महासेठकै निर्देशनमा गरेको हो । महासेठले ओलीको चाहनामा नै न्युरोडमा पुनः सडक पिच गराएका हुन् । र, यसबारे मन्त्रीले प्रधानमन्त्रीसँग पनि परामर्श पक्कै गरेका छन् । पछिल्लो कदम महानगरको काममा सरकारको प्रत्यक्ष हस्तक्षेप हो । 

सोमबार न्युरोडमा जति काम भयो सो काम सामान्य अवस्थामा एक सातामा पनि नसकिने काम हो । सरकारले चाहेरै सो स्थानमा एकैपटकमा आवश्यक जनशक्ति लगाएर काम गरेको देखिन्छ । चितवन–नारायणगढलगायत राजमार्ग वर्षौंसम्ममा पनि निर्माण गर्न नसक्ने सरकारले चाह्यो भने एकैछिनमा कति काम गर्न सक्ने रहेछ भन्ने कुरा पनि आजको कामले देखिएको छ ।  

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतले पनि गिरिबन्धु टीइस्टेट प्रकरणमा एमाले अध्यक्ष ओलीको संलग्नता रहेको भनेर आरोप लगाइरहेको छन् । कांग्रेसले सो मुद्दालाई संसदमा उठाउने तयारी गरिसकेको छ । यही सन्दर्भमा बालेनले लेखेको कडा स्टाटसले आगोमा घिउ थपेझैँ भएको छ । 

बालेनको उक्त भनाइप्रति समर्थन गर्दै लाखौँ मानिसले गिरिबन्धुमा संलग्नमाथि कारबाहीको माग गरेका छन् । सोमबार उत्पन्न घटनाका विषयमा कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले पनि आफ्नो धारणा राखेका छन् । 

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले बालेन्द्र साहको काममा अवरोध गर्न नहुने बताए । मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने उनको भनाइ थियो । 

सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने मात्रै बताएनन, गिरीबन्धु टी स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए ।

सोमबारै सञ्चारकर्मीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि गिरिबन्धु टी–इस्टेट प्रकरणबारे प्रश्न गरे । त्यसको जवाफमा ओलीले यस विषयमा बालेन्द्र शाहसँग सोध्न आग्रह गरे । 

मेयर शाहप्रति आमसर्वसाधारणले जति समर्थन देखाएका छन्, राजनीतिक दलहरूले त्यति नै असहिष्णुुता प्रदर्शन गरिरहेका छन् । आफ्नो प्रभाव क्षेत्रमा एउटा स्वतन्त्र व्यक्तिले चुनाव जितेर एकपछि अर्को लोकप्रियता कमाइरहनु दलका नेताका लागि पाच्य नहुनु स्वाभाविक नै हो । यसको अग्रपंक्तिमा एमले देखिएको छ । 

लोकतन्त्रमा विधिसम्मत रुपमा निर्वाचन जितेर आएको व्यक्तिविरुद्ध सरकारको सबैभन्दा ठूलो दल र त्यसका अध्यक्ष नै हात धोएर लाग्नु लोकतन्त्रका लागि सुखद् पक्ष होइन । एमाले अध्यक्ष ओलीको आक्रोशमा प्रधानमन्त्री पुष्पकमल दाहालको मौनता पनि कम रहस्यमय छैन । 

यसअघि कांग्रेससँग सत्ता समीकरणमा रहेका बेला पनि मेयर बालेनले आक्रोश पोख्दै ‘सिंहदरबार जलाइदिने’ चेतावनी दिँदै फेसबुक स्टाटस लेखेका थिए । उनको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डले बालेनलाई पक्राउ गर्ने तयारी गरेका थिए । तर, सत्ता सहयात्री दल कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा अभिव्यक्ति दिएकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भन्दै रोकेका थिए । जनमत पार्टीका अध्यक्ष सिके राउतले एक टेलिभिजन कार्यक्रममार्फत यसको खुलासा गरेका थिए । 

बालेन र एमालेबीचको पछिल्लो टकरावले पुनः सोही घटना स्मरण गराएको छ । राजनीतिक वृत्तमा कतै सरकारले बालेनलाई पक्राउ गर्ने तयारी गरिरहेको त छैन भन्ने आशंकाका आवाज उठ्न थालेका छन् । कतिपयले भने बालनेको पछाडि रहेको जनसमर्थन्का अगाडि सरकारको केही नलाग्ने टिप्प्णी पनि गरिरहेका छन् । 

संसारका जुनसुकै कम्युुनिष्ट पार्टी स्वभावैले निरंकुश र तानाशाही हुन्छन् । विश्वभरका कम्युनिष्ट सरकार र शासकको व्यवहाले यसको पुष्टि गरेको छ । अहिले सरकारमा दुई ठूला कम्युनिष्ट पार्टी छन् । हुन त यी कम्युनिष्ट पार्टीहरुले बेलाबेलामा लोकतन्त्रप्रति प्रतिबद्धता जनाइरहेका हुन्छन्, तर व्यवहारमा उतार्न भने सकिरहेका छैनन् । त्यसकारण पनि प्रचण्ड-ओलीको स्वार्थ मिल्यो भने को कहाँ कहिले निशानामा पर्छ भन्न सकिँदैन । कतै बालेनप्रति पनि उनीहरू निशाना साँध्दै त छैनन् भन्ने चिन्ता आममानिसले व्यक्त गरिरहेका छन् । 

  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया