logo-img

नेपाल भर्सेस नेदरल्याण्ड्स : हेड टु हेडमा को अगाडि ? [भिडियोसहित]
फाइल तस्बिर

अमेरिका र वेस्ट इण्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मंगलबार राति ९ः१५ देखि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा सुरु हुनेछ । 

जारी विश्वकपमा समूह ‘डी’ मा रहेका नेपाल र नेदरल्याण्ड्सको यो पहिलो खेल हो । दुवै टिम जितका साथ विश्वकपको सुरुवात गर्न चाहन्छन् । छैटौँपटक विश्वकप खेल्न लागेको नेदरल्याण्ड्सले अहिलेसम्म विश्वकपमा कूल २३ खेल खेलेको छ, जसमा उसले ९ मा जित, १३ मा हार तथा एक खेलमा अंक बाँडेको इतिहास छ । 

विश्वकपमा नेदरल्याण्ड्सको जित प्रतिशत ४०.९० रहेको छ । यस्तै, विश्वकपमा नेपालको जित प्रतिशत ६६.६६ रहेको छ । नेपालले सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेकाले जित प्रतिशत पनि राम्रो बनाएको हो । सो विश्वकपमा नेपालले तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार बेहोर्यो । नेपाल यसपटक समूह चरण पार गर्ने लक्ष्यमा छ । त्यसका लागि नेपालले नेदरल्याण्ड्सलाई हराउँदै सुखद यात्रा गर्नुपर्नेछ । 

हेड टु हेडमा कडा टक्कर 

हालसम्मको नतिजा हेर्दा नेपाल र नेदरल्याण्ड्सबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म यी दुई टिमले १२ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेदरल्याण्ड्सले ६ र नेपालले ५ खेल जितेको विगत छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ । विश्वकपमा भने नेपाल र नेदरल्याण्ड्स पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् । 



नेदरल्याण्ड्सविरुद्ध नेपाल घरेलु मैदानमा हाबी हुँदै आए पनि विदेशी भूमिमा भने संघर्ष गर्दै आएको छ । यसपटक नेपाल त्योक्रम तोड्दै विदेशी मैदानमा पनि डच टिमविरुद्ध स्मरणयोग्य प्रदर्शन गर्ने योजनामा हुनेछ । नेपालले अहिलेसम्म विदेशी भूमिमा दुई टी–२० आई खेलमा हराएको छ ।  



यी दुई टिमबीचको विगत नियाल्दा नेपालविरुद्ध नेदरल्याण्ड्सको सानो स्कोर ९६ रन तथा उच्च स्कोर २०९ रन हो । यस्तै, टी–२० आईमा नेदरल्याण्ड्सविरुद्ध नेपालको कमजोर प्रदर्शन ६९ रनमै अलआउट हुन हो । नेपालले यो खराब प्रदर्शन सन् २०१५ को नेदरल्याण्ड्स भ्रमणमा गरेको थियो । 

यस्तै, नेदरल्याण्ड्सविरुद्ध टी–२० आईमा नेपालको उच्च स्कोर २३८ रन बनाउनु हो । नेपालले यो उपलब्धि २०२१ मा हासिल गरेको थियो । उक्त खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्यो । नेपाल अब मंगलबार तीन वर्षअघिको सो दोहोर्याउँदै विश्वकपको ठूलो मञ्चमा नेदरल्याण्ड्सलाई हराउन पूरा कोसिस गर्नेछ ।

  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया