logo-img

विश्वकपमा कान्छा कप्तानको रेकर्ड बनाउँदै रोहित पौडेल
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली टिम आज मैदान उत्रँदैछ । नेपालले आइसिसीको यो ठूलो प्रतियोगितामा पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ ।

यी दुई टिमबीचको नेपाली समयअनुसार राति ९ः१५ देखि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियमम सुरु हुनेछ । १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टिमको कप्तानी रोहितकुमार पौडेलले गर्नेछन् । 

योसँगै उनी विश्वकपका सर्वाधिक कान्छा कप्तान बन्नेछन् । रोहित २१ वर्ष २ सय ७६ दिनको उमेरमा विश्वकपमा कप्तानको रूपमा डेब्यू गर्न लागेका हुन् । उनले २१ वर्ष २५ दिनमा नेपालका लागि टी–२० आईमा कप्तानमा डेब्यू गरेका थिए ।

हालसम्म विश्वकपमा कान्छा कप्तानको रेकर्ड हङकङका जेम्स एटकिन्सनको नाममा छ । उनले सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा नेपालविरुद्ध कप्तानी गदै कीर्तिमान बनाएका थिए । 



एटकिन्सनले २३ वर्ष २ सय ५ दिनको उमेरमा रहँदा विश्वकपमा कप्तानी गरेका थिए । कप्तानको रूपमा विश्वकपमा डेब्यू गरेको उक्त खेलमा उनी सोमपाल कामीको बलमा ६ रनमा बोल्ड भए । अब १० वर्षपछि एटकिन्सनको रेकर्ड तोड्दै रोहित विश्वकपका सर्वाधिक कान्छा कप्तान बन्नेछन् । 

उनले हालसम्म नेपालका लागि टी–२० मा २८ र ओडिआईमा ३६ खेलमा कप्तानी गरेका छन्, जसमा रोहितको कप्तानीमा नेपालले २१ ओडिआई र १६ टी–२० आईमा जित निकालेको छ ।



हालसम्मको जित रेकर्ड हेर्दा उनी नेपालका सर्वाधिक सफल कप्तान हुन् । रोहितको कप्तानीमा अहिलेसम्म नेपालले १० टी–२० आई र १४ ओडिआईमा भने हारको सामना गरेको छ ।

उनको कप्तानीमा नेपालले विश्वकप विश्वकप लिग–२ मा उत्कृष्ट पुनरागमनसहित एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) जोगायो । साथै, उनको नेतृत्वमा नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुग्दै एसिया कपमा छनोट भयो, जहाँ नेपालले पहिलोपटक भारत र पाकिस्तानजस्तो टेस्ट राष्ट्रसँग खेल्यो।

रोहितको कप्तानीमा नेपालले एसिया क्षेत्र छनोटमा यूएईलाई हराउँदै १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनायो । 

  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया