logo-img

नेपालमा ३१ जेठमा मनसुन भित्रिने, १८ लाख मानिस प्रभावित हुने अनुमान
फाइल तस्बिर

यस वर्षको मनसुन ३१ जेठमा नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर १७ असोजमा बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंख्या प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ मा मनसुनमा हुने अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको हो । 

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले मनसुनजन्य विपदबाट यो वर्ष १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताएका छन् । मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपदबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ । 

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा  प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत आवश्यक पर्ने जनाएको छ । 

यस्तै, मधेश प्रदेशमा २० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र चार हजारभन्दा बढी घरपरिवारलाई उद्धार तथा राहत आवश्यक पर्ने, बागमतीमा सात हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र एक हजार पाँच सय घरपरिवारलाई राहत तथा उद्धार आवश्यक हुने पूर्वानुमान गरिएको छ ।

लुम्बिनी प्रदेशमा १५ हजार पाँच सय, सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय र सुदूरपश्चिममा करिब एक हजार पाँच सय घरपरिवार मनसुनबाट प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान छ । 



मनसुनजन्य विपद् परेका नागरिकको उद्धार, पुनःस्थापना तथा राहतका लागि नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरीका गरी ३१ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्षरूपमा परिचालन गर्ने तयारी गृह मन्त्रालयको छ ।

मन्त्रालयले विपद् न्यूनीकरण, उद्धार तथा राहतका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गर्ने, काठमाडौं, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राख्ने, अवरुद्ध सडक खुलाउन आवश्यक सामाग्री र जनशक्ति तयारी अवस्थामा राखिनेलगायतका योजना बनाएको छ ।   



  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया