logo-img

यी चार नेपाली क्रिकेटर, जसको नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट विगत छ

आइसिसी टी–२० विश्वकप २०२४ मा नेपालले पहिलो खेलमा आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यी दुई टोलीबीचको खेल राति ९ः१५ देखि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा सुरु हुनेछ । जारी विश्वकपमा नेपाल र नेदरल्याण्ड्स पहिलो खेल खेल्न लागेका हुन् ।

नेपाल विश्वकपको पहिलो भेटमै नेदरल्याण्ड्सलाई हराउँदै विजयी सुरुवात गर्ने लक्ष्यमा छ । यद्यपि एसोसियट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दैै आएको नेदरल्याण्ड्सविरुद्ध नेपाललाई जित निकाल्न सहज हुने छैन ।  

हालसम्म यी दुई टिमले १२ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेदरल्याण्ड्सले ६ र नेपालले पाँच खेलमा जित निकालेको रेकर्ड छ । यी दुई टिमबीचको एक खेल भने नतिजाविहीन रह्यो । यदि आज जित हात पार्न सके नेपालले नेदरल्याण्ड्सँगको जित संख्या बराबर गर्नेछ । 

नेपाल नेदरल्याण्ड्सविरुद्ध टी–२० आईमा सर्वाधिक ठूलो लक्ष्य दिने मामलामा दोस्रो स्थानमा छ । सन् २०२१ मा भएको सिरिजमा नेपालले नेदरल्याण्ड्लाई २ सय ३९ रनको लक्ष्य दिएको थियो । नेपाल उक्त खेलमा १४२ रनले विजयी भयो । सो म्याच खेलेका अधिकांश खेलाडी अहिले पनि नेपालको टिममा छन् ।  

नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने चार नेपाली खेलाडी :



कुशल भुर्तेल

हालसम्म नेदरल्याण्ड्सविरुद्ध टी–२० आईमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा कुशल भुर्तेल शीर्ष स्थानमा छन् ।



उनले अहिलेसम्म डच टिमविरुद्ध ६ टी–२० आई खेलेका छन्, जसमा कुशलले तीन अर्धशतकको मद्दतमा १३९.५२ को स्ट्राइक रेटमा २ सय ३३ रन बनाएका छन् । नेदरल्याण्ड्सविरुद्ध उनको उच्च स्कोर ७७ रन हो ।

दीपेन्द्र सिंह ऐरी​

नेदरल्याण्ड्सविरुद्ध यो ढाँचामा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीको दोस्रो स्थानमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

उनले हालसम्म नेदरल्याण्ड्सविरुद्ध ६ टी–२० आई इनिङ खेलेका छन्, जसमा ऐरीले उत्कृष्ट १८४ को स्ट्राइक रेटमा २ अर्धशतकसहित १८४ रन बनाएका छन् । नेदरल्याण्ड्सविरुद्ध उनको उच्च स्कोर ६३ रन हो । 

करण केसी

बलिङतर्फ नेदरल्याण्ड्सविरुद्ध सर्वाधिक सफल नेपाली बलरको रेकर्ड करण केसीको नाम छ । उनले हालसम्म डच टिमविरुद्ध १२ टी–२० आई खेलेका छन्, जसमा करणले ८.०४ को इकोनमीमा १६ विकेट लिएका छन् ।

नेदरल्याण्ड्सविरुद्ध उनको उत्कृष्ट बलिङ स्पेल २० रन दिएर ४ विकेट लिनु हो । 

सन्दीप लामिछाने

नेदरल्याण्ड्सविरुद्ध पूर्वकप्तान तथा स्टार लेगस्पिनर सन्दीप लामिछानेको विगत प्रदर्शन पनि राम्रो छ । उनले हालसम्म नेदरल्याण्ड्सविरुद्ध पाँच टी–२० आई खेलेका छन्, जसमा सन्दीपले ७.९५ को इकोनमीमा १२ विकेट लिएका छन् । 

नेदरल्याण्ड्सविरुद्ध उनको उत्कृष्ट बलिङ फिगर २० रन दिएर ४ विकेट लिनु हो । जारी विश्वकप खेलिरहेको नेपालको टिममा भने सन्दीप छैनन् । अमेरिकाले भिसा नदिँदा उनले विश्वकप खेल्न नपाएका हुन् ।      

यो पनि : नेपाल भर्सेस नेदरल्याण्ड्स : हेड टु हेडमा को अगाडि ? 

यो पनि : विश्वकपमा कान्छा कप्तानको रेकर्ड बनाउँदै रोहित पौडेल

  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया